काठमाण्डौं : मुगुका युवाहरुले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङलाई झरो उपहार दिएका छन् ।
मुगुमा देखिएको विद्युत् सङ्कट समाधानको माग गर्दै जिल्लाका युवाहरूले सोमबार संघीय राजधानी काठमाडौंमा सिंहदरबार स्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री घिसिङलाई झरो (उज्यालोका लागि बालिने सल्लाको काठ) उपहार दिँदै ध्यानाकर्षण गराएका छन्।


२१औँ शताब्दीमा पनि मुगुमा विद्युत् सुविधा नहुँदा नागरिकहरू अझै पनि झरो बाल्न बाध्य भएको सन्देश दिन उनीहरूले सांकेतिक रूपमा यस्तो उपहार दिएका हुन्।
जिल्लाको अनुमानित ७० हजार जनसङ्ख्यामध्ये हालसम्म करिब ३ हजार ५ सय जनाले मात्र विद्युत् प्रयोग गर्न पाएको तथ्याङ्क पत्रमा उल्लेख गर्दै मुगु जिल्लालाई ‘विशेष विद्युतीकरण प्राथमिकता क्षेत्र’ घोषणा गरिनुपर्ने, जिल्लाका सबै ७० हजार जनताका लागि ‘शतप्रतिशत विद्युत् पहुँच’ पुर्याउने स्पष्ट समयसीमा र कार्ययोजना सार्वजनिक गरिनुपर्ने, भरपर्दो वितरण प्रणाली निर्माणका लागि तत्काल विशेष प्राविधिक टोली मुगु पठाउनुपर्ने, भौगोलिक अवस्था अनुसार राष्ट्रिय ग्रिड र स्थानीय वैकल्पिक स्रोतलाई एकीकृत रूपमा कार्यान्वयन गरिनुपर्ने, जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिन विशेष निर्देशन जारी गरिनुपर्ने, जस्ता माग सहित ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय ग्रिडको पहुँच विस्तार हुन नसक्दा र स्थानीय साना जलविद्युत् आयोजनाहरू पनि भरपर्दो नहुँदा सेवाग्राही मर्कामा परेका छन्।
बत्ती आए पनि भोल्टेज नहुने, घण्टौँ र दिनौँसम्म अनियमित हुने तथा महिनौँसम्म बत्ती नै नआउने समस्याले मुगुको जनजीवन, पठनपाठन, अस्पतालको सेवा र सञ्चार क्षेत्र ठप्प हुने गरेको गुनासो युवाहरूको छ।
युवाहरूले मुगुको विद्युतीकरणलाई पूर्वाधार निर्माण मात्र नभई सामाजिक न्यायको विषयका रूपमा लिन मन्त्री घिसिङसँग आग्रह समेत गरेका छन्।












