पूर्ण सार्की/ सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले गाउँपालिकाभित्र झोला, साइकल, मोटरसाइकल तथा सवारीसाधनमार्फत घुम्ती रूपमा व्यापार–व्यवसाय गर्ने व्यापारीहरूका लागि राजश्व बुझाउनुपर्ने व्यवस्था गरेको छ।
गाउँकार्यपालिकाको निर्णयअनुसार अब चौकुने गाउँपालिकाभित्र कुम्लो, बोरा, झोला बोकेर, साइकल, मोटरसाइकल तथा अन्य गाडी प्रयोग गरी व्यापार गर्ने जो कोहीले तोकिएको दररेटअनुसार गाउँपालिकाको कार्यालयमा राजश्व बुझाएपछि मात्र व्यापार गर्न पाउने भएका छन्।



गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै पालिका भित्र कुम्लो, बोरा वा झोलामा व्यापार गर्नेले प्रतिदिन ५० रुपैयाँ, साइकलमा व्यापार गर्नेले प्रतिदिन ७५ रुपैयाँ, मोटरसाइकलमार्फत व्यापार गर्नेले प्रतिदिन १०० रुपैयाँ र गाडीमार्फत व्यापार गर्नेले प्रतिदिन ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने व्यवस्था गरेको जानकारी दिएको छ।

पालिकाले सूचनामा तोकिएको नियमको पालना नगरी व्यापार–व्यवसाय गरेको पाइएमा निर्धारण गरिएको दररेटको दोब्बर दस्तुर लाग्ने र सम्बन्धित सबै व्यापारीहरूलाई नियम पालना गर्न आग्रह समेत गरेको छ।
जनहितमा जारी सन्देश
















