रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकाका विभिन्न बस्तीहरूमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीय जनजीवन प्रभावित बनेको छ।
नेपाल टेलिकम को मोबाइल सेवा अवरुद्ध भएपछि झुम्लाबाङ, मोराबाङ, सिमा, जितखोला, खाबाङ, महतलगायतका गाउँहरू सोमबारदेखि सञ्चारविहीन बनेका छन्।


मोबाइल सेवामा बढ्दो निर्भरता रहेको अवस्थामा नेटवर्क अवरुद्ध हुँदा बैंकिङ सेवा, विद्यालयका गतिविधि, स्वास्थ्य सेवा तथा स्थानीय तहका प्रशासनिक कामकाजमा समेत असर परेको छ। डिजिटल माध्यमबाट हुने सेवा प्रवाह अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई दैनिक कामकाज सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
यद्यपि, रुकुमपूर्वस्थित नेपाल टेलिकम कार्यालयले सेवा अवरुद्ध हुनुको कारणबारे हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
यसैबीच, नेटवर्क समस्या दोहोरिन थालेपछि स्थानीय चन्द्र रसाइलीले सामाजिक सञ्जालमार्फत सरोकारवालाको ध्यानाकर्षण गराएका छन्। उनले भूमे–६ महतस्थित टेलिकम टावरको दीर्घकालीन व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै स्थानीय विद्युत् अवरोधका कारण पटक–पटक सेवा ठप्प हुने समस्या रहेको बताएका छन्।
स्थानीयले सेवा शीघ्र सुचारु गर्न र दीर्घकालीन समाधानको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।










