सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा असमानता न्यूनीकरणका उपायबारे छलफल गरिएको छ। जिल्लाको वीरेन्द्रनगरमा नगरपालिकामा गैसस महासंघ कर्णाली प्रदेशको आयोजनामा राष्ट्रिय असमानता प्रतिवेदन सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल गरिएको हो।



कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाबीच देशभित्र बढ्दो असमानता र त्यसका समाधानका उपायबारे छलफल गरिएको गैसस महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले जानकारी दिए।
यस्तै, परामर्श कार्यक्रममा उपस्थित सहभागीहरूलाई चार समूहमा विभाजन गरी आय, सम्पत्ति तथा खर्च, शिक्षा, राजनीतिक सहभागिता, जलवायु परिवर्तन, बसाइँसराइ, सामाजिक सुरक्षा, स्वास्थ्य तथा स्थानिय र डिजिटल पहुँच जस्ता विषयमा समूहगत छलफल गरिएको थियो।

प्रत्येक समूहमा विभिन्न विषयका पहुँच, समानता, गुणस्तर, र अवसरका आधारमा वर्तमान अवस्था, चुनौतीका विषयमा विश्लेषण प्रस्तुत गरिएको थियो।
छलफलका क्रममा कर्णालीका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक अझै पनि आधारभूत सेवा र अवसरबाट वञ्चित रहेको, शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरको असमानता कायम रहेको तथा डिजिटल पहुँचमा समेत समस्या रहेको निष्कर्ष निकालिएको गैसस महासंघका केन्द्रीय कोषाध्यक्ष गोविन्द शाहीले बताए।

यस्तै, छलफलमा जलवायु परिवर्तनका कारण विपन्न समुदाय झन् बढी प्रभावित भइरहेको र बसाइँसराइले सामाजिक संरचनामा असर पारिरहेको विषयवस्तु उठेका थिए।
छलफलमा असमानता न्यूनीकरणका लागि समावेशी नीति, लक्षित कार्यक्रम, प्रभावकारी कार्यान्वयन र स्थानीय तहसम्म पहुँच विस्तार लगायतका विषयमा सहभागीहरूले दिएका सुझावहरूलाई समेटेर आगामी नीति तथा योजना निर्माणमा उपयोग गरिने आयोजकले जनाएको छ।










