सुर्खेत । परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दैलेखका एक युवकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अन्तरवार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै पीडितहरूबाट करोडौं रुपैयाँ ठगी गरी फरार रहेका दैलेखको भगवतीमाई गाउँपालिका-७ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ मा बसोबास गर्दै आएका २२ वर्षीय पवन वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजङ्ग बूढथापाले जानकारी दिए ।


सूचना अधिकारी बूढथापाका अनुसार उनलाई खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिब १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरिएको हो।
पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि कार्यालयमा राखिएको छ। उँनीविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।









