मैले २०७९ सालको स्थानीय तहको निर्वाचनमा एउटा प्रतिवद्धतापत्र तयार गरी नागरिकमाझ प्रस्तुत गरेको थिएँ । त्यो तत्काल मतदाताबाट अनुमोदित भएन । तर आज फर्केर हेर्दा महसुस हुन्छ, त्यो चुनावी घोषणापत्र मात्र थिएन, एउटा सुरुवात थियो । भविष्यतर्फ संकेत गर्ने एउटा बाटो थियो । त्यस अर्थमा, त्यो असफलता होइन; त्यो आफैमा एक प्रकारको जित थियो ।
ठूलीभेरीको कथा अझै अधुरो छ । तर अधुरोपन केवल अभाव होइन, त्यो सम्भावनाको अर्को नाम हो । अधुरोपनभित्र नै भविष्य लुकेको हुन्छ । सुरु भएको सपना कुनै न कुनै दिन पूरा हुन्छ, पूरा नहुञ्जेल त्यो अधुरै रहन्छ, चाहे त्यो कथा होस् वा विकासको यात्रा ।


त्यही सोचबाट जन्मिएको थियोः सुगम, सुव्यवस्थित र सुसम्पन्न ठूलीभेरी ।
२०७९ को निर्वाचन आज पनि भर्खरै जस्तो लाग्छ । त्यसबेला मैले र हाम्रो टिमले नागरिकसँग साझा गरेका सपना, घोषणापत्रमा लेखिएका प्रतिबद्धताहरू अझै धेरै हदसम्म अपूरा छन् । तर समयले ती विषयहरूलाई कमजोर होइन, झन् सान्दर्भिक बनाएको छ ।
सामाजिक क्षेत्रमा लामो समय काम गरेको अनुभव भए पनि राजनीति मेरो लागि नयाँ क्षेत्र थियो । सपना स्पष्ट थियो तर बाटो सजिलो थिएन । त्यसबेला बाटो कति जटिल हुन्छ भन्ने पूर्ण रूपमा बुझिएको थिएन । तर मनमा एउटा दृढ चाहना थियो, गाउँको संरचनामा सीमित ठूलीभेरीलाई सक्षम, व्यवस्थित र अवसरयुक्त नगरपालिकामा रूपान्तरण गर्ने ।
त्यही सोचबाट जन्मिएको थियोः सुगम, सुव्यवस्थित र सुसम्पन्न ठूलीभेरी ।
त्यतिबेला उठाइएको मूल प्रश्न अझै उस्तै छः दुर्गम हुनु हाम्रो नियति हो, कि हाम्रो व्यवस्थापनको कमजोरी?
मेरो घोषणापत्रले त्यो अधुरोपनलाई शब्द दिएको थियो । तर निर्वाचन परिणामले अर्को यथार्थ देखायो । घोषणापत्र मात्र पर्याप्त हुँदैन । त्यतिबेला “नलेखिएका घोषणापत्र” हरू हावी भए । तर त्यस प्रक्रियाले एउटा महत्वपूर्ण परिवर्तन पनि सुरु भयो । नागरिकले विकल्प देख्न थाले । आश्वासनभन्दा योजना पनि हुन सक्छ भन्ने बुझाइ विकास भयो । त्यसपछि नागरिकले उम्मेदवारसँग प्रश्न गर्न थाले, प्रतिवद्धता माग्न थाले । यो सानो परिवर्तन होइन, यो राजनीतिक चेतनाको विस्तार हो ।
आज फर्केर हेर्दा, त्यो घोषणापत्र केवल विगतको कागज होइन, भविष्यको संकेत हो । त्यतिबेला उठाइएको मूल प्रश्न अझै उस्तै छः दुर्गम हुनु हाम्रो नियति हो, कि हाम्रो व्यवस्थापनको कमजोरी?
यही प्रश्नले ठूलीभेरीलाई सुगम बनाउने दृष्टिकोण जन्माएको थियो । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्ने योजना केवल पूर्वाधार विकास होइन, जीवनस्तर रूपान्तरण गर्ने सोच थियो । “डिजिटल ठूलीभेरी” को अवधारणा त्यतिबेला सम्भावना थियो, आज आवश्यकता बनेको छ । पारदर्शी, जवाफदेही र नागरिक–केन्द्रित शासन अब अनिवार्य भइसकेको छ । अनलाइन सेवा, डिजिटल पहुँच र नागरिक सहभागिता आधुनिक शासनका आधार हुन् ।
आज यो घोषणापत्रलाई पुनः हेर्दा, यो केवल “के गर्न सकिन्थ्यो” भन्ने दस्तावेज होइन, “अब के गर्नुपर्छ” भन्ने स्पष्ट मार्गचित्र हो ।
समावेशिता र सामाजिक न्याय घोषणापत्रका केन्द्रमा थिए । विभेदरहित समाज, सम्मानित नागरिक र समान अवसर, यी मूल्यहरू व्यवहारमा उतार्न अझ गहिरो प्रतिबद्धता आवश्यक छ भन्ने बुझाइ अझ स्पष्ट भएको छ । अर्थतन्त्रतर्फ “गरिखाने ठूलीभेरी” को सोच अझै उत्तिकै सान्दर्भिक छ । स्थानीय उत्पादन, ब्रान्डिङ र बजारसँगको जोडमार्फत आत्मनिर्भरता सम्भव छ । साना प्रयासबाट ठूला परिणाम सम्भव छन् भन्ने विश्वास अझ बलियो भएको छ ।
शिक्षा र युवामा लगानी गर्ने दृष्टिकोण पनि निरन्तर परिपक्व हुँदै गएको छ । सीप, नेतृत्व र अवसरसँग जोडिएको शिक्षा भविष्य निर्माणका आधार हुन् ।
आज यो घोषणापत्रलाई पुनः हेर्दा, यो केवल “के गर्न सकिन्थ्यो” भन्ने दस्तावेज होइन, “अब के गर्नुपर्छ” भन्ने स्पष्ट मार्गचित्र हो । यो कसैले पनि अगाडि बढाउन सक्ने साझा दस्तावेज हो । ठूलीभेरी अझै परिवर्तनको प्रतीक्षामा छ । तर त्यो परिवर्तन आकस्मिक रूपमा आउने होइन । योजनाबद्ध, निरन्तर र प्रतिबद्ध प्रयासबाट मात्रै सम्भव छ । २०७९ मा सुरु भएको यात्रा रोकिएको छैन । यो अझ स्पष्ट दृष्टि, गहिरो जनसम्पर्क र बलियो आधारका साथ अघि बढिरहेको छ । ठूलीभेरीको सपना अड्किएको भएपनि निरन्तरतामा छ ।

प्रेमबहादुर बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा सहभागि ठूलीभेरी नपाको मेयर पदका स्वतन्त्र उम्मेदवार हुन् ।











