मैले २०७९ सालको स्थानीय तहको निर्वाचनमा एउटा प्रतिवद्धतापत्र तयार गरी नागरिकमाझ प्रस्तुत गरेको थिएँ । त्यो तत्काल मतदाताबाट अनुमोदित भएन । तर आज फर्केर हेर्दा महसुस हुन्छ, त्यो चुनावी घोषणापत्र मात्र थिएन, एउटा सुरुवात थियो । भविष्यतर्फ संकेत गर्ने एउटा बाटो थियो । त्यस अर्थमा, त्यो असफलता होइन; त्यो आफैमा एक प्रकारको जित थियो ।

ठूलीभेरीको कथा अझै अधुरो छ । तर अधुरोपन केवल अभाव होइन, त्यो सम्भावनाको अर्को नाम हो । अधुरोपनभित्र नै भविष्य लुकेको हुन्छ । सुरु भएको सपना कुनै न कुनै दिन पूरा हुन्छ, पूरा नहुञ्जेल त्यो अधुरै रहन्छ, चाहे त्यो कथा होस् वा विकासको यात्रा ।

त्यही सोचबाट जन्मिएको थियोः सुगम, सुव्यवस्थित र सुसम्पन्न ठूलीभेरी ।

२०७९ को निर्वाचन आज पनि भर्खरै जस्तो लाग्छ । त्यसबेला मैले र हाम्रो टिमले नागरिकसँग साझा गरेका सपना, घोषणापत्रमा लेखिएका प्रतिबद्धताहरू अझै धेरै हदसम्म अपूरा छन् । तर समयले ती विषयहरूलाई कमजोर होइन, झन् सान्दर्भिक बनाएको छ ।

सामाजिक क्षेत्रमा लामो समय काम गरेको अनुभव भए पनि राजनीति मेरो लागि नयाँ क्षेत्र थियो । सपना स्पष्ट थियो तर बाटो सजिलो थिएन । त्यसबेला बाटो कति जटिल हुन्छ भन्ने पूर्ण रूपमा बुझिएको थिएन । तर मनमा एउटा दृढ चाहना थियो, गाउँको संरचनामा सीमित ठूलीभेरीलाई सक्षम, व्यवस्थित र अवसरयुक्त नगरपालिकामा रूपान्तरण गर्ने ।

त्यही सोचबाट जन्मिएको थियोः सुगम, सुव्यवस्थित र सुसम्पन्न ठूलीभेरी ।

त्यतिबेला उठाइएको मूल प्रश्न अझै उस्तै छः दुर्गम हुनु हाम्रो नियति हो, कि हाम्रो व्यवस्थापनको कमजोरी?

मेरो घोषणापत्रले त्यो अधुरोपनलाई शब्द दिएको थियो । तर निर्वाचन परिणामले अर्को यथार्थ देखायो । घोषणापत्र मात्र पर्याप्त हुँदैन । त्यतिबेला “नलेखिएका घोषणापत्र” हरू हावी भए । तर त्यस प्रक्रियाले एउटा महत्वपूर्ण परिवर्तन पनि सुरु भयो । नागरिकले विकल्प देख्न थाले । आश्वासनभन्दा योजना पनि हुन सक्छ भन्ने बुझाइ विकास भयो । त्यसपछि नागरिकले उम्मेदवारसँग प्रश्न गर्न थाले, प्रतिवद्धता माग्न थाले । यो सानो परिवर्तन होइन, यो राजनीतिक चेतनाको विस्तार हो ।

आज फर्केर हेर्दा, त्यो घोषणापत्र केवल विगतको कागज होइन, भविष्यको संकेत हो । त्यतिबेला उठाइएको मूल प्रश्न अझै उस्तै छः दुर्गम हुनु हाम्रो नियति हो, कि हाम्रो व्यवस्थापनको कमजोरी?

यही प्रश्नले ठूलीभेरीलाई सुगम बनाउने दृष्टिकोण जन्माएको थियो । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्ने योजना केवल पूर्वाधार विकास होइन, जीवनस्तर रूपान्तरण गर्ने सोच थियो । “डिजिटल ठूलीभेरी” को अवधारणा त्यतिबेला सम्भावना थियो, आज आवश्यकता बनेको छ । पारदर्शी, जवाफदेही र नागरिक–केन्द्रित शासन अब अनिवार्य भइसकेको छ । अनलाइन सेवा, डिजिटल पहुँच र नागरिक सहभागिता आधुनिक शासनका आधार हुन् ।

आज यो घोषणापत्रलाई पुनः हेर्दा, यो केवल “के गर्न सकिन्थ्यो” भन्ने दस्तावेज होइन, “अब के गर्नुपर्छ” भन्ने स्पष्ट मार्गचित्र हो ।

समावेशिता र सामाजिक न्याय घोषणापत्रका केन्द्रमा थिए । विभेदरहित समाज, सम्मानित नागरिक र समान अवसर, यी मूल्यहरू व्यवहारमा उतार्न अझ गहिरो प्रतिबद्धता आवश्यक छ भन्ने बुझाइ अझ स्पष्ट भएको छ । अर्थतन्त्रतर्फ “गरिखाने ठूलीभेरी” को सोच अझै उत्तिकै सान्दर्भिक छ । स्थानीय उत्पादन, ब्रान्डिङ र बजारसँगको जोडमार्फत आत्मनिर्भरता सम्भव छ । साना प्रयासबाट ठूला परिणाम सम्भव छन् भन्ने विश्वास अझ बलियो भएको छ ।

शिक्षा र युवामा लगानी गर्ने दृष्टिकोण पनि निरन्तर परिपक्व हुँदै गएको छ । सीप, नेतृत्व र अवसरसँग जोडिएको शिक्षा भविष्य निर्माणका आधार हुन् ।

आज यो घोषणापत्रलाई पुनः हेर्दा, यो केवल “के गर्न सकिन्थ्यो” भन्ने दस्तावेज होइन, “अब के गर्नुपर्छ” भन्ने स्पष्ट मार्गचित्र हो । यो कसैले पनि अगाडि बढाउन सक्ने साझा दस्तावेज हो । ठूलीभेरी अझै परिवर्तनको प्रतीक्षामा छ । तर त्यो परिवर्तन आकस्मिक रूपमा आउने होइन । योजनाबद्ध, निरन्तर र प्रतिबद्ध प्रयासबाट मात्रै सम्भव छ । २०७९ मा सुरु भएको यात्रा रोकिएको छैन । यो अझ स्पष्ट दृष्टि, गहिरो जनसम्पर्क र बलियो आधारका साथ अघि बढिरहेको छ । ठूलीभेरीको सपना अड्किएको भएपनि निरन्तरतामा छ ।

प्रेमबहादुर बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा सहभागि ठूलीभेरी नपाको मेयर पदका स्वतन्त्र उम्मेदवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP