सुर्खेत: सुर्खेतको चिंगाड गाउँपालिकामटेला स्थित ठाँटी मेलामा जारी भलिबल प्रतियोगितामा सल्यानको बनगाड कुपिण्डे दह र रुकुम पश्चिमको आठबिसकोट फाइनलमा प्रवेश गरेका छन् ।
आईतबार भएको सेमिफाइनलको पहिलो खेलमा बनगाड कुपिण्डे दहले सुर्खेतको लेखबेशीलाई सोझो सेटमा गराउँदै फाइनलको यात्रा तय गरेको प्रतियोगिताका रेफ्री यम घर्तीले जानकारी दिए।


त्यस्तै सेमिफाइनल कै दोश्रो खेलमा सुर्खेत चिंगाडको भलिबल टिमलाई (२-१) हराउँदै रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भलिबल टिम फाइनल प्रवेश गरेको छ।
फाइनलमा आठबिसकोट र बनगाड कुपिण्डे दह बीच प्रतिस्पर्धा हुने छ। यो दुई बीचको विजेता टोलीले प्रतियोगिताको उपाधि उचाल्ने छ भने हार्ने टोली उपविजेता बन्ने छ। सेमिफाइनल खेलमा पराजित हुने दुई टिम सुर्खेतको लेखबेशी र चिंगाड बीच तेश्रो स्थानको लागि प्रतिस्पर्धा हुने छ भने विजेता टोली तृतीय बन्ने छ।
गत कार्तिक १९ गते देखि संचालित मेलामा भलिबल तर्फ समूहचरणका सम्पूर्ण खेलहरु पूरा भै सेमिफाइनल चरणका खेलहरु समेत पूरा भएको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।
प्रतियोगितामा फाइनलमा र तेश्रो स्थानको लागि हुने खेलहरु आजै हुने आयोजकले जानकारी दिएको छ।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ ठाँटी मेलामा ठाँटी बजार व्यवस्थापन समिति द्वारा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता – २०८२ मा प्रथम हुनेले ट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. १ लाख ६५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गर्ने छ। द्वितीय हुने भलिबल टोलीले ट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. १ लाख ११ हजार १ सय ११ र तृतीय हुने भलिबल टोलीलेट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्रमाणपत्र र मेडल सहित नगद रु. १० हजार प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा विभिन्न विद्या तर्फ उत्कृष्ट हुनेले , प्रमाणपत्र र मेडल सहित नगद रु. ३ हजार प्राप्त गर्ने मेलाका खेल संयोजक खगेन्द्र जिसीले जानकारी दिए। खेल संयोजक जीसीका अनुसार सेमिफाइनल खेलहरूलाई हेर्न स्थानीय दर्शकको उत्साह उच्च सगै मेलाको वातावरण झन् रंगिन बन्दै गएको छ।











