काठमाडौं: नेपाली क्रिकेटको बहुप्रतिक्षित फ्रेन्चाइज टुर्नामेन्ट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सोमबार (आज) बाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने भएका छन्।



अघिल्लो संस्करणमा एकपटक मात्र आमनेसामने भएका यी दुई टोलीबीचको भिडन्तमा जनकपुरले पाँच विकेटले काठमाडौंलाई पराजित गरेको थियो। जनकपुरका लागि जिमी निसमले २७ रनको योगदानसहित सहज जित दिलाएका थिए। निसम यसपटक भने पोखरा एभेन्जर्सबाट खेल्दै छन्।
यसपटक जनकपुर बोल्ट्सको कप्तानी अनिल साहले सम्हाल्नेछन्। मार्की खेलाडी आसिफ शेख रहेका जनकपुरले शुभ कंसाकार, मायान यादव, आदित्य महतो, विकास आग्री, ललित राजवंशीसहित विदेशी खेलाडी इमरान ताहिर (दक्षिण अफ्रिका), जान निकोल लफ्टी इटन (नामिबिया), लाहिरू मिलान्था (अमेरिका) र वायन पार्नेल (दक्षिण अफ्रिका) लाई समावेश गरेको छ। टोलीको प्रशिक्षण जिम्मेवारी वेस्ट इन्डिजका दिग्गज शिवनारायण चन्द्रपललाई दिइएको छ।

त्यस्तै काठमाडौं गोर्खाजको कप्तानी यसपटक पनि करण केसीले नै गर्नेछन्। काठमाडौंले भारतीय सन्नी पटेल, नामिबियाका कप्तान जेरार्ड एरासमस, इंग्ल्यान्डका जोन सिम्पसन, दक्षिण अफ्रिकाका हेनरिक क्लासन र अमेरिकाका मिलिन्द कुमारलाई अनुबन्ध गरेको छ। साथै, काठमाडौंले नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको छ।

मंसिर २७ गतेसम्म चल्ने एनपीएलका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन्। यसपटक अधिकांश खेलहरू दिवा–रात्री प्रारूपमा खेलाइनेछन् र मैदानमा जडान गरिएको नयाँ फ्लडलाइट प्रणाली पहिलोपटक प्रयोगमा आउनेछ।
आठ फ्रेन्चाइज टोली सहभागी रहेको एनपीएलको लिग चरणमा २८ खेल हुनेछन्। शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्, जसमा क्वालिफायर, एलिमिनेटर र दोस्रो क्वालिफायरको प्रक्रिया पार गर्दै फाइनलका दावेदार चयन हुनेछन्। फाइनल मंसिर २७ गते हुनेछ।
पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। आठै टोलीले आफ्नो मार्की खेलाडी रिटेन गरेका छन्, जसमा सन्दीप लामिछाने (विराटनगर), आसिफ शेख (जनकपुर), करण केसी (काठमाडौं), कुशल मल्ल (चितवन), कुशल भुर्तेल (पोखरा), रोहित पौडेल (लुम्बिनी), सोमपाल कामी (कर्णाली) र दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम) छन्।
क्रिकेट संघ (क्यान) ले यसपटकको एनपीएलबाट ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने लक्ष्य राखेको छ। प्रायोजक, फ्रेन्चाइज टिम, टिकट बिक्री, ओटीटी तथा टेलिभिजन अधिकारबाट आय प्राप्त हुने क्यानका पदाधिकारीले जानकारी दिएका छन्।
दोस्रो संस्करणको विजेताले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।











