काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संसद्मा समर्थन जनाउने शैली परिवर्तन गर्न प्रस्ताव गरेका छन्। उनले टेबुल ठोक्ने परम्परागत अभ्यासको सट्टा ताली बजाउने नयाँ अभ्यास सुरु गर्न आग्रह गरेका हुन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उपसभामुख पदका लागि रूबी ठाकुरलाई मतदान गर्न आह्वान गर्ने क्रममा बोल्दै साम्पाङले यस्तो प्रस्ताव राखेका हुन्।


उनले भने, “अलिक अनौठो खालको बोलिन्छ। एकचोटी म फेरि अर्को अनुरोध के गर्न चाहन्छु भने आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला ?”
साम्पाङले हाल संसद्मा प्रचलित टेबुल तथा कुर्सी ठोकेर समर्थन जनाउने शैली त्यति राम्रो नदेखिएको जिकिर गरे। “खाली हामीले टेबुल कुर्सी ठोकेर, टेबुल कुर्सीमाथि चढेर यो पनि अलिकति राम्रो देखिएको छैन। हाम्रो दुई हात छ, मन लाग्दा ताली ठोक्यो भने कति राम्रो होला,” उनले भने।
उनको प्रस्तावपछि केही सांसदहरूले ताली बजाएरै समर्थन जनाएका थिए।











