सुर्खेत:सुर्खेतको सिम्ता गाउँपालिका–६ जामुने बजारमा एक पत्रकारमाथि कुटपिट भएको छ। शुक्रबार दिउँसो भएको घटनामा ‘टार्जन रिपोर्टर’का सञ्चालक तथा पत्रकार कमल गिरी (टार्जन) माथि स्थानीय यातायात व्यवसायी समितिका प्रतिनिधि नारायण शाहीले लठ्ठी प्रहार गरेका हुन्।



इलाका प्रहरी कार्यालय बाँदेपिपलका प्रहरी निरीक्षक सुरेश सिंहका अनुसार, बस समितिको व्यवस्थापनसम्बन्धी विषयमा गिरी र शाहीबीच विवाद भएको थियो। विवाद उग्र बन्दा शाहीले लठ्ठीले गिरीको टाउकोमा प्रहार गरेका थिए।
घटनामा गिरीको टाउकोमा गम्भीर चोट लागेको छ। गिरीका अनुसार, उनले आफुलाई टिकट काउन्टरमा राखिदिन आग्रह गर्दा शाहीले ‘मान्छे धेरै भएको’ भन्दै इन्कार गरेका थिए। त्यसपछि गिरीले छुट्टै काउन्टर खोल्ने तयारी गर्दा शाही आक्रोशित हुँदै आक्रमणमा उत्रिएका थिए।
‘मैले टिकट काउन्टरमा राखिदिन अनुरोध गरेँ, उहाँले अहिले मान्छे धेरै भएकोले सम्भव छैन भन्नुभयो। त्यसपछि म छुट्टै काउन्टर खोल्ने तयारी गर्दा उहाँले टाउकोमै लठ्ठी प्रहार गर्नुभयो,’ गिरीले बताए।
कुटपिटपछि गिरीले जामुने बजारमै प्राथमिक उपचार गरेका छन् र थप उपचारका लागि नेपालगञ्ज जाने तयारीमा छन्।
प्रहरीले कुटपिटमा संलग्न नारायण शाहीलाई नियन्त्रणमा लिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।
हेर्नुहोस् भिडियो:









