काठमाण्डौ: अर्को वर्ष भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै २० टोलीको टुंगो लागेको छ ।
एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा यूएईले जापानलाई ८ विकेटले पराजित गरेसँगै विश्वकपमा सहभागी हुने सबै टोलीको टुंगो लागेको हो । यसअघि यस क्षेत्रबाट नेपाल र ओमानले विश्वकमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए ।


एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सहभागी ९ मध्य नेपाल, ओमान र यूएईले विश्वकपको यात्रा तय गरेका हुन् ।
यी तीन देश सगै यसअघि भारत र श्रीलंकाले आयोजकको रुपमा विश्वकपमा स्थान बनाएका थिए भने अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले २०२४ टी-२० विश्वकपको शीर्ष ७ टोलीको रुपमा अघि बढेका थिए ।
आयरल्यान्ड, न्यूजिल्यान्ड र पाकिस्तान वरियताका आधारमा विश्वकपमा पुगेका हुन् । यस्तै अमेरिका क्षेत्रीय छनोटबाट क्यानडा, युरोप क्षेत्रीय छनोटबाट इटाली र नेदरल्याण्ड्स तथा आफ्रिका क्षेत्रीय छनोटबाट नामिबिया र जिम्बावेले विश्वकपको यात्रा तय गरिसकेका थिए ।











