पूर्ण सार्की/ डोल्पा। हिमाली जिल्ला डोल्पादेखि निर्वाचित प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाले प्रधानमन्त्री बालेन शाह समक्ष १५ बुँदे माग राखेका छन् ।
सोमबार प्रधानमन्त्री शाहले कर्णालीका सांसदहरू सँगको भेटघाटको क्रममा सांसद बुढाले डोल्पाको भौगोलिक विकटता र सीमित स्रोतका कारण विकासमा चुनौती रहेको उल्लेख गर्दै विशेष योजना र बजेटको आवश्यकता औंल्याएका थिए ।


सोही अनुसार बुधबार प्रधानमन्त्री समक्ष बुढाले लिखित १५ बुँदे माग सहित जिल्लाको लागी समग्र विकासका लागि विभिन्न प्राथमिकताका योजना तथा बजेट माग प्रस्तुत गरेका छन्।
सांसद बुढाले भेरी करिडोर (उत्तर–दक्षिण सडक) अन्तर्गत त्रिपुराकोट–दुनै–ल्हासिक्याप सडक स्तरोन्नति तथा कालोपत्रेका लागि कम्तीमा २ अर्ब बजेट माग गरेका छन्। भेरी करिडोरको ल्हासिक्याप–सिसोल–धो खण्ड (३३ किमी) निर्माणका लागि १ अर्ब बजेट व्यवस्था गर्नुपर्ने, तल्लुबगर–त्रिवेणी–त्रिपुराकोट–दुनै खण्डमा मोटरेबल पुल निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ।
यस्तै मुस्ताङ–डोल्पा सडक, पूर्वी रुकुम हुँदै दुनै जोड्ने सडक, जुम्ला–मौरे–त्रिपुराकोट सडक स्तरोन्नति, विभिन्न गाउँ जोड्ने सडक ट्र्याक खोल्ने तथा ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा रिङरोड निर्माण गर्नुपर्ने माग गरिएको छ।
डोल्पा जिल्ला अस्पताललाई आधुनिक उपकरणसहित स्तरोन्नति गर्न, माथिल्लो र तल्लो डोल्पामा कम्तीमा ५ शैय्याका दुई अस्पताल स्थापना गर्न तथा स्वास्थ्य चौकीहरूमा औषधि र जनशक्ति व्यवस्थापन गर्न माग गरिएको छ।
शिक्षातर्फ डोल्पो क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन, तीनवटा आवासीय विद्यालय स्थापना गर्न र सीटीईभीटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ।
राष्ट्रिय प्रसारण लाइन विद्युत विस्तार गरी जिल्लाका गाउँ–गाउँमा विद्युत् पुर्याउनुपर्ने, भरबुङ ३२८ मेगावाट जलाशययुक्त आयोजना राष्ट्रिय गौरवमा राखी फास्ट ट्र्याकमा सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
साथै जगदुल्ला र अन्य जलविद्युत आयोजनाहरू अगाडि बढाउँदै स्थानीयलाई शेयर स्वामित्व, रोजगारी र विद्युतमा प्राथमिक हक सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।
कृषि उत्पादन बढाउन बीउ बैंक स्थापना, जडीबुटी तथा फलफूल भण्डारणका लागि कोल्ड स्टोर निर्माण तथा उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने प्रस्ताव गरिएको छ।
डोल्पालाई विश्व पर्यटन गन्तव्य बनाउने लक्ष्यसहित साउथ डोल्पा सर्किट पदमार्ग निर्माण, फोक्सुण्डो ताल साइकिल सर्किट, त्रिपुरासुन्दरी मन्दिर, शे गुम्बा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासका लागि बजेट माग गरिएको छ।
मसिनेचौर विमानस्थलमा तत्काल हवाई सेवा सञ्चालन गर्न तथा ‘डोल्पो सभ्यता विकास विधेयक’ अघि बढाउनुपर्ने पनि प्रस्ताव गरिएको छ।
खेलकुदतर्फ उच्च हिमाली क्षेत्रमा हाई–अल्टिच्युड स्टेडियम निर्माण, डिजिटल डोल्पा कार्यक्रमअन्तर्गत सबै पालिकामा इन्टरनेट विस्तार, फोरजी टावर स्थापना, लोकसेवा परीक्षा केन्द्र स्थापना, सुख्खा बन्दरगाह निर्माण, एकीकृत खानेपानी तथा बजार क्षेत्रमा ढल व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ।
सांसद बुढाले डोल्पाको दिगो र समावेशी विकासका लागि यी सबै योजनालाई समेटेर आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्न प्रधानमन्त्रीसँग आग्रह समेत गरेका छन्।
हेर्नुहोस् १५ बुँदे माग












