जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परी घाइते भएका तीनै जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
आइतबार बिहान करिब १० बजे स्थानीय थालु प्रसाद जैसीको घरको भान्सा कोठामा ग्यास चुहावट भएपछि आगलागी भएको हो।आगलागीमा परेर ४२ वर्षीया माया जैसी, उनका २२ वर्षीय छोरा गणेश गौतम र मायाकी ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएका छन्।


घाइते तीनै जनालाई तत्काल प्राथमिक उपचारका लागि नलगाड नगर अस्पताल लगिएको थियो। तर त्यहाँ थप उपचार सम्भव नभएपछि नेपाली सेनाको पश्चिम हवाई बेस सुर्खेतबाट आएको हेलिकप्टरमार्फत उनीहरूलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
नेपालगञ्ज देखि हवाईजहाज मार्फत घाइते तीनै जनालाई उपचारको लागि काठमाण्डौ लगिने जाजरकोट देखि निर्वाचित प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले जानकारी दिए ।











