डोल्पा। हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरू आइतबार पनि सञ्चालन हुने भएका छन्।
गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन हुने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिए ।


उनले गाउँ शिक्षा समितिको निर्णय अनुसार आगामी शैक्षिक सत्रदेखि विद्यालयहरू नियमित रूपमा आइतबार पनि खुला राखिने बताए ।
गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था भए पनि स्थानीय परिस्थितिका कारण फरक निर्णय गरिएको जनाएको छ।
हिमाली जिल्लामा हिउँदका समयमा लामो बिदा (पौषमा १५ दिन र माघमा ३० दिन) हुने भएकाले तोकिएको वार्षिक पाठ्यघण्टा पूरा गर्न कठिन हुने देखिएको गाउँपालिकाको भनाइ छ।
यसै कारण विद्यार्थीहरूको पढाइ प्रभावित नहोस् र निर्धारित पाठ्यक्रम समयमै सम्पन्न होस् भन्ने उद्देश्यले आइतबार बिदा नदिने निर्णय गरिएको गाउँ शिक्षा समितिले जनाएको छ।
पालिकाले पालिका भित्रका सबै समुदायिक विद्यालयहरुलाई २०८३ सालको नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सञ्चालन गर्ने र नियमित रूपमा विद्यालय सञ्चालन गर्न सबै विद्यालयलाई आग्रह समेत गरेको छ।












