सुर्खेत । कर्णाली प्रदेश सरकारले विकास निर्माणका योजनालाई गति दिन सकेको छैन् । चालु आर्थिक वर्षका तीन महिना मात्रै बाँकी रहँदा विकास बजेटको ७५ प्रतिशतभन्दा बढी रकम खर्च हुन सकेको छैन् ।

चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारको समग्र बजेट खर्च पनि सुस्त देखिएको छ । सरकारले चैत महिनासम्म कुल बजेटको २४.२१ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयले दिएको तथ्याङ्गक अनुसार चालु आर्थिक वर्ष (०८२/८३) का लागि सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्म ८ अर्ब ३ करोड ६२ लाख बराबरको बजेट खर्च भएको हो ।

फागुन मसान्तसम्म सरकारले ६ अर्ब ४८ करोड १६ लाख बराबरको बजेट खर्च गरेको थियो । एक महिना अर्थात चैत महिनामा मात्रै प्रदेश सरकारले पाँच प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ । सरकारको बजेट कार्यान्वयनको यो तथ्याङ्क विगतका आर्थिक वर्षहरूको भन्दा झनै कमजोर हो ।

गत आर्थिक वर्ष तेस्रो त्रैमासिक समीक्षासम्म अर्थात् चैत मसान्तसम्म प्रदेश सरकारले कुल विकास बजेटको २० प्रतिशत अर्थात् ३ अर्ब ९३ करोड २४ लाख रकम कार्यान्वयनमा ल्याएको थियो । चालु आर्थिक वर्ष समीक्षा अवधिमा जम्मा १७.१६ प्रतिशत अर्थात् ३ अर्ब ४२ करोड ८७ लाख मात्रै कार्यान्वयनमा आएको छ । विकास बजेट कार्यान्वयन कर्णाली प्रदेश स्थापनाकालदेखि नै प्रमुख चुनौती हो । विकास बजेट कार्यान्वयन विगत ३÷४ आर्थिक वर्ष यताकै अहिले सबैभन्दा कमजोर हो ।

चालु आर्थिक वर्ष सरकारसँग १९ अर्ब ९८ करोड २७ लाख वार्षिक पुँजीगत बजेट थियो । अब प्रदेश सरकारको संचित खातामा २५ अर्ब १५ करोड ७३ लाख ८६ हजार आठ सय रुपैयाँ मौज्दात छ । अबको तीन महिनामा यो बजेट कार्यान्वयन गर्नुपर्ने छ । आगामी असार मसान्तसम्म विकास तर्फको १६ अर्ब ५५ करोड ४७ लाख ६८ हजार बराबरको बजेट कार्यान्वयन गर्नुपर्ने दवावमा सरकार छ । विगतमा पनि प्रदेश सरकारको ठुलो बजेट आर्थिक वर्षका तीन महिनामा कार्यान्वयन हुने गरेको छ । कर्मचारी संयन्त्रदेखि मन्त्रीहरूले नियमित तलब, सेवा, सुविधा पाइरहे पनि विकास बजेट कार्यान्वयमा ध्यान दिएको पाइँदैन ।

कुन मन्त्रालयको बजेट खर्च कति ? 

सबैभन्दा धेरै पुँजीगत बजेट रहने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ९ महिनामा जम्मा १८.३३ अर्थात् १ अर्ब ९७ करोड ११ लाख मात्रै कार्यान्वयनमा ल्याएको छ । यो मन्त्रालयसँग वार्षिक १० अर्ब ७३ करोड १४ लाख पुँजीगत बजेट छ । सामाजिक विकास मन्त्रालयको खर्च प्रतिशत पनि गतिलो छैन ।

कुल पाँच अर्ब ९७ करोड २६ लाख ८९ हजार बजेट रहेको यस मन्त्रालयले हालसम्म ३० दशमलव ९२ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ । जसमा चालुतर्फ एक अर्ब ४० करोड ८३ लाख ३१ हजार पाँच सय ४४ र विकासतर्फ ४३ करोड ८५ लाख ५७ हजार ६ सय ५७ रुपैयाँ खर्च भएको छ ।

सामाजिक विकास मन्त्रालयले चालुतर्फ ४४ दशमलव १६ प्रतिशत बजेट कार्यान्वयन गर्दा विकास बजेट भने १५ दशमलव ७६ प्रतिशत मात्रै गरेको छ । अब यस मन्त्रालयले चार अर्ब १२ करोड ५७ लाख ९९ हजार सात सय ९८ रुपैयाँ खर्च गर्न बाँकी छ ।

मुख्यमन्त्री कार्यालयकै बजेट खर्च दयनीय 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५५ करोड १० लाख ४६ हजार आठ सय ३९ रुपैयाँ बजेट छ । यो कार्यालयले चालुतर्फ १३ करोड ८८ लाख ६३ हजार ९२ र पूँजिगततर्फ १३ करोड ७४ लाख ७१ हजार अर्थात कुल बजेटको २६ दशमलव २५ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ ।

मुख्मन्त्री कार्यालयको विकास बजेट खर्च १२ दशमलव ३५ प्रतिशत छ । २० करोड १३ लाख ४५ हजार कुल बजेट रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले ४३ दशमलव ९४ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ ।

यो मन्त्रालयले चालु तर्फ आठ करोड ६५ लाख २७ हजार अर्थात ४३ प्रतिशत बजेट खर्चिदा पूँजिगततर्फ भने ७८ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ । हालसम्म यो मन्त्रालयले ५६ दशमलव ६३ प्रतिशत विकास बजेट कायान्वयनमा ल्याएको छ । अब यो मन्त्रालयले ११ करोड २८ लाख बढीको बजेट कार्यान्वयन गर्न बाँकी छ । यस्तै, कुल दुई अर्ब ४२ करोड ७९ लाख ९८ बजेट रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २५ दशमलव ४५ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ ।

यो मन्त्रालयको पूँजिगत खर्च पनि सन्तोषजनक छैन । नौ महिनाको अवधिमा चालुतर्फ ४८ करोड ४७ लाख ९१ हजार आठ सय १२ रुपैयाँ अर्थात ४८ प्रतिशत खर्चिदा विकास बजेट भने जम्मा नौ प्रतिशत खर्च भएको छ । कुल विकास बजेट मध्ये हालसम्म पर्यटन मन्त्रालयले १३ करोड ३० लाख ९२ हजार नौ सय एक रुपैयाँ कार्यान्वयन गरेको छ । अब यो मन्त्रालयको खातामा एक अर्ब ८१ लाख रुपैयाँ खर्च हुन बाँकी छ । जलस्रोत तथा ऊर्जा मन्त्रालय मातहतमा तीन अर्ब ८३ करोड ३५ लाख ८० हजार बजेट छ । तर कार्यान्वयन भने जम्मा २४ दशमलव ६० प्रतिशत भएको छ ।

यो मन्त्रालयले चालुतर्फ १४ करोड ५६ लाख ११ हजार ६ सय ७८ अर्थात कुल बजेटको ५३ दशमलव तीन प्रतिशत खर्च गरेको छ । विकासतर्फ भने ७९ करोड ६७ लाख ८८ हजार आठ सय ४२ रुपैयाँ खर्च भएको छ । विकासतर्फको यो खर्च जम्मा २२ दशमलव ४१ प्रतिशत मात्रै हो । अबका तीन महिनामा यस मन्त्रालयले दुई अर्ब ८८ करोड ७९ लाख ५७ हजार चार सय ७९ रुपैयाँ खर्च गर्नुपर्ने छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत कार्यान्वयन हुने गरी दुई अर्ब ५७ करोड ११ लाख रुपैयाँ बराबरको बजेट छ ।

खर्च भने जम्मा कुल बजेटको १६ दशमलव ७९ प्रतिशत मात्रै खर्च भएको छ । जसमा चालुतर्फ ३७ करोड १२ लाख २५ हजार दुई सय ६० खर्च हुँदा विकास बजेट भने ६० करोड ४३ लाख ९२ हजार ६९ रुपैयाँ मात्रै खर्च भएको छ । यो खर्च चालुतर्फ १९ दशमलव २४ र पूँजिगततर्फ नौ दशमलव ४२ प्रतिशत हो । कृषि मन्त्रालयको खातामा दुई अर्ब १३ करोड ९४ लाख ३५ हजार चार सय ७० रुपैयाँ खर्च हुन नसकेर थन्किएको छ ।

यस्तै, प्रदेश सरकारले खारेज गरिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको खर्च ४२ दशमलव ६६ प्रतिशत छ । जम्मा १२ करोड ९४ लाख ७४ हजार एक सय ६६ रुपैयाँ बजेट रहेको यस मन्त्रालयले चालुतर्फ पाँच करोड ३९ लाख ७१ हजार र पूँजीततर्फ २१ लाख ६७ हजार पाँच सय ९९ रुपैयाँ खर्च गरेको छ । जसमा चालुतर्फ ४२ दशमलव १२ र पूँजिगततर्फ ६२ दशमलव ३४ प्रतिशत बजेट कार्यान्वयन भएको छ । अब यो मन्त्रालयको खातामा सात करोड ४२ लाख रुपैयाँ मौज्दात छ ।

बजेट कार्यान्वयनको पाटो झन् अस्तव्यस्त

मुख्यमन्त्री यामलाल कँडेलले योजना छनोट र बजेट कार्यान्वयनमा थिति बसालेको दाबी गरे पनि बजेट कार्यान्वयनको पाटो भने सुध्रनुको साटो झन् अस्तव्यस्त बन्दै गएको छ । कँडेलले योजना छनोट कार्यविधि बनाएर बजेटलाई अनुत्पादक क्षेत्रमा खर्च हुन नदिने प्रयास थालेका थिए । उनले प्रदेश मातहतका कार्यालयलाई बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेर बजेट कार्यान्वयनलाई गति दिने प्रयास गरेका थिए । कार्यालय प्रमुखहरूलाई वीरेन्द्रनगरमा बोलाएर प्रतिवद्धतासमेत व्यक्त गर्न उनले लगाए । जिल्ला–जिल्ला पुगेर मातहतका निकायलाई बजेट कार्यान्वयनको योजना बनाउँन लगाए । तर, बजेट कार्यान्वयनको ग्राफ बढाउन भने मुख्यमन्त्री कँडेल असफल देखिएका छन् ।

उनले प्रदेशका विभिन्न निकायहरु हेरफेर गर्नेदेखि होटलमा कार्यक्रम नगर्नेसम्मका नीति लिएका थिए । उनको यो कदम आन्तरिक स्रोतमा कमजोर रहेको कर्णालीको प्रशासनिक खर्च घटाउने थियो । तथ्यले भने चालु अर्थात प्रशासनिक खर्चको ग्राफ भने निरन्तर उकालो लागेको देखिन्छ ।

चालु आर्थिक वर्षमा बजेट किताबमा परेका आयोजनालाई समयमै खरिद प्रक्रियामा लगेर काम सुरु गरिने दाबी गरिएको थियो । आर्थिक वर्ष सुरु भएको नौ महिना बितिसक्दा पनि विकास निर्माणका योजना अपेक्षाअनुसार अघि बढ्न नसक्दा विकास बजेट प्रदेश सरकारको सञ्चित खातामा थन्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र


TOP