डोल्पा । हिमाली जिल्ला डोल्पाका विभिन्न स्थानमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार तथा टावर स्तरवृद्धिको माग गरिएको छ।
सोमबार प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री धन बहादुर बुढाले सेवा सुधारको माग गर्दै काठमाडौंस्थित भद्रकालीमा रहेको टेलिकमको केन्द्रीय कार्यालय पुगेर जिल्लाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार र टावर स्तरवृद्धिको माग सहित ध्यानाकर्षण गराएका हुन्।



सांसद बुढासँगै डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले टेलिकमका महानिर्देशकसमक्ष जिल्लाका विभिन्न स्थानीय तहमा रहेका टावरहरूमा फोरजी सेवा विस्तार, रिपिटर टावर जडान तथा भएका टावरहरूको स्तरवृद्धि गर्न माग गरेका छन् ।
वर्षौंदेखि भरपर्दो सञ्चार सेवा नहुँदा जिल्लावासी आधारभूत सेवाबाट वञ्चित हुँदै आएको र जिल्लाका स्थानीयको समस्यालाई मध्यनजर गर्दै सञ्चार सेवाको लागि माग गरिएको सांसद बुढाले जानकारी दिए ।

सांसद बुढाले जिल्लाको ठूलीभेरी नगरपालिका भित्रका वडा नं. १, २, ४, ५, ६, १० र ११ मा रिपिटर टावर जडानको माग गरेको बताए।
त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका भित्रका वडा नं. ३, ४, ५, ९, १० र ११ मा फोरजी सेवा विस्तार गर्न माग गरेका छन् । काइके गाउँपालिकाको वडा नं. १ (कोला), माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिकाको फाल क्षेत्र तथा शे–फोक्सुण्डो गाउँपालिकाका विभिन्न स्थानमा पनि फोरजी सेवा सञ्चालनसहित टावरहरूको स्तरवृद्धि आवश्यक रहेको मागपत्रमा उल्लेख गरेका छन्।

यसैगरी मुड्केचुला र जगदुल्ला गाउँपालिकामा रहेका टावरहरूमा भोल्टेज कम हुँदा सेवा अवरुद्ध हुने समस्या देखिएको भन्दै ती स्थानमा पनि फोरजी सेवा सञ्चालनसहित भएका टावरको स्तरोन्नति गर्नुपर्ने माग गरिएको छ।
सांसद बुढाले जिल्लाभर रहेका अन्य टावरहरूको प्राविधिक समस्या र सेवा अवरोधबारे समेत जानकारी गराउँदै शीघ्र समाधानका लागि पहल गर्न आग्रह समेत गरेका छन्। दुर्गम क्षेत्रमा सञ्चार सेवा सुदृढ नहुँदा शिक्षा, स्वास्थ्य र सुरक्षाजस्ता क्षेत्रमा समेत असर परेको उनले बताए।
डोल्पाका स्थानीयवासीले समेत प्रभावकारी दूरसञ्चार सेवा विस्तार गरी डिजिटल पहुँच सुनिश्चित गर्न सरोकारवालासँग लामो समयदेखि माग गर्दै आएका छन्।
जिल्लाका अधिकांश ठाउँहरूमा अझै पनि भरपर्दो सञ्चार सेवा पुग्न सकेको छैन ।









