सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालका लागि थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बैठकका निर्णयबारे जानकारी दिएका हुन्।


उनका अनुसार प्रदेश सरकारले चैत १२ गते मनाइने धान दिवस तथा असोज २२ गते लाग्ने चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेलाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यी बिदा भने जुम्ला जिल्लामा मात्र लागू हुनेछन्।
यस्तै, असार १५ गतेको राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक प्रदेशका अन्य नौ जिल्लामा सार्वजनिक बिदा दिइनेछ।
त्यसैगरी, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस र कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन प्रदेशभर सार्वजनिक बिदा रहने निर्णय गरिएको प्रवक्ता शाहले बताए।
बैठकले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूची–२ मा हेरफेर गरी उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ।









