पूर्ण सार्की/ डोल्पा। डोल्पा र रुकुम पश्चिमको सिमानास्थित त्रिवेणीमा भेरी नदीमाथि निर्माणाधीन पक्की पुल निर्माणको काम ६ वर्षमा ७० प्रतिशत मात्रै भएको छ ।
निर्माणाधीन जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको सिमानामा रहेको त्रिवेणी स्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल वर्षौ देखि अलपत्र परी ६ वर्षमा ७० प्रतिशत मात्रै काम भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।



भेरी कोरिडोर सडक खण्डको बीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक समेत निर्माण गर्न मुस्किल परेको छ । भेरी नदीमा एक सय मिटर लामो पक्की पुल निर्माण कार्य सुरु भएको वर्षौ सम्म काम नगर्दा समस्या आएपछि विभिन्न निकायको ताकेतापछि अहिले निर्माण कम्पनीले निरन्तर काम गरिरहेको छ ।
जगदुल्ला जलविद्युतले १०० मिटर लम्बाइको पुल निर्माणका लागि २०७७ साल साउनमा करिब १५ करोड रुपैयाँको ठेक्का खोलेको थियो।
उक्त ठेक्का क्याराभान कन्ट्रक्सनले १४ करोड १७ लाख रुपैयाँमा लिएको भए पनि काम सुरु नगरी पुल निर्माणको जिम्मा स्थानीय रेट्रो ट्रेक कन्ट्रक्सनलाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण पछि स्थानीय निर्माण कम्पनीले बर्खा, जग्गा विवाद तथा कोभिड-१९ महामारीलाई कारण देखाउँदै वर्षौंसम्म काम अलपत्र पारेको थियो । विभिन्न निकायको दबाब र विद्युत आयोजनाको ताकेतापछि लामो समयपछि भने अहिले निर्माण कम्पनीले कामलाई केही तीव्रता दिएको छ।
अहिले निरन्तर काम गरिरहेको दाबी गर्दै हाल सम्म ७० प्रतिशत काम सम्पन्न भएको र असार मसान्तसम्म ९० प्रतिशत काम सम्पन्न गराउने रेट्रो टेक कम्पनीका प्रोप्राइटर बादल बुढाले जानकारी दिए ।
उनका अनुसार जग्गाधनीहरूले मुआब्जा नपाएको भन्दै अवरोध गरेपछि केही समय काम रोकिएको र २०८२ कात्तिक २० गतेपछि मुआब्जा वितरण भएपछि कामले पुनः गति लिएको हो।
रेट्रो ट्रेक कन्ट्रक्सनका प्रोप्राइटर बुढाले वर्षायाममा भेरी नदीको उच्च बहाव र हिउँदयाममा मात्रै काम गर्न मिल्ने अवस्थाले पनि पुल निर्माणमा ढिलाइ भएको बताए। उनले अब कुनै अवरोध नभए २०८३ सालको दशैंसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको समेत जानकारी दिए ।
सुरुमा क्याराभान कन्ट्रक्सन र कम्पनीका प्रोप्राइटर चन्द्र थकालीले ठेक्का लिएपछि काम नगरेको र अर्को कम्पनीलाई जिम्मा दिएको विषयमा डोल्पाका आलोचना हुँदै आएको थियो । आयोजनाबाट ७२ लाख रुपैयाँ पेस्की लिएको भए पनि काममा अपेक्षित प्रगति नदेखिएको भन्दै जिल्लाका सरोकारवालाहरूले प्रश्न उठाउदै आएका छन् ।
पुल निर्माणमा ढिलाइ हुँदा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनामा समेत प्रत्यक्ष असर परेको छ । निर्माण सामग्री ढुवानीमा समस्या हुँदा विद्युत निर्माणको काममा प्रभावित बनेको आयोजनाले जनाएको छ।
पक्की पुल समयमै नबन्दा आयोजनाले त्रिवेणी स्थित भेरी नदीमा ह्यूम पाइप राखेर अस्थायी रूपमा सडक निर्माण गरेको छ ।
पुल निर्माण नहुँदै सडक निर्माण अन्तिम चरणमा
जगदुल्ला जलविद्युत आयोजनाको ड्यामसम्म सडक विस्तार गर्नको लागि पहिलो चरणमा पुल आवश्यक परेको भन्दै ठेक्का खुलाएको आयोजनाले पुल निर्माण नहुँदै अधिकांश सडक निर्माण कार्य सम्पन्न भइसकेको जनाएको छ । भने मुड्केचुलाको खर्क सहित केहि ठाउँमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको र अन्य ठाउँमा निर्माणको प्रक्रियामा रहेको बताएको छ ।
अहिले मुड्केचुलाको नर्कु देखि ओक्टसम्मको खण्डमा सडक निर्माण कार्य जारी छ। सडक खण्ड भित्र पर्ने कडा चट्टानी भूभागमा नेपाली सेनाले निर्माण कार्य गरिरहेको छ।
त्रिवेणीमा पुल अलपत्र पर्दा सडक खण्ड भित्र पर्ने खोलामा बेलिब्रिज निर्माणको काममा असर परिरहेको आयोजनाले जनाएको छ ।
उक्त सडक जगदुल्ला गाउँपालिकामा निर्माण हुने ड्यामसम्म पुग्नेछ। त्रिवेणीमा पुल चाँडै सम्पन्न भए सम्पूर्ण सडक सञ्जालले पूर्णता पाउने र आयोजना निर्माणमा सहज हुने आयोजनाले बताएको छ ।











