डोल्पा । हिमाली जिल्ला डोल्पामा तथ्यांक संकलनका क्रममा बिरामी परेका एक कर्मचारीको हेलिकप्टरमार्फत उद्धार गरीएको छ ।
तथ्याङ्क संकलनको क्रममा जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा खटिएका गणक कमल डाँगी अचानक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले उद्धारका लागि पहल गरेको थियो।


सोही अनुसार उनलाई हवाई उद्धार गरी थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पुर्याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकार रमेश पौडेलले जानकारी दिए ।
नेपाल श्रमशक्ति सर्वेक्षण २०८२/८३ अन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालय, थापाथली काठमाडौंको टोलीसँग कार्यरत डाँगी दुर्गम क्षेत्रमा कार्यरत रहेका बेला बिरामी परेका थिए।
स्थलमार्गबाट तत्काल उपचार सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्ष रुकबहादुर खड्काले जानकारी दिए।











