जाजरकोट । जाजरकाेटको नलगाड नगरपालिका-२ छेप्कामा आइतबार बिहान ग्यास सिलिन्डर लिक भएर एक घरमा आगलागी भयो ।
आगलागीमा परेर एकै परिवारका तीन जना गम्भीर घाइते भए । घाइतेलाई नलगाड स्थित नगर अस्पतालमा प्राथमिक उपचारको लागि पुर्याइयो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि तत्काल नेपालगञ्ज अथवा काठमाडौँ लैजान डाक्टरले सुझाव दिए ।
सडक मार्ग हुँदै उपचारमा तत्काल लैजान सम्भव थिएन । घटना भएको करिब ३ घण्टा पछि नेपाली सेनाको हेलिकप्टर उद्धारको लागि पुग्यो । सेनाको हेलीकप्टर मार्फत् घाइते तीनै जनालाई हेलीकप्टर मार्फत नेपालगञ्ज लगियो त्यहाँ देखि हवाईजहाज मार्फत काठमाण्डौं पुर्याइयो र हाल उपचार जारी छ ।
उद्धार पछि जाजरकाेटका नेता, अभियन्ता, प्रशासनदेखि सरोकारवालहरुले आफ्नो पहलमा उद्धार गरियो भन्दै सामाजिक सञ्जाल फेसबुकमा पहलको श्रेय लिने होड बाजी गरे। यतिकैमा जेनजी अभियान्ता भनेर चिनिएकी सुप्रिया शाहीले सामाजिक सञ्जाल फेसबुकमा मेरो पहलमा उद्दार भएको भन्दै गृहमन्त्री सुदन गुरूङलाई धन्यवाद लेखिन् ।
‘ मेरो पहलमा जाजरकोटको नलगाड न.पा.-२, छेप्कामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा तीन जना गम्भीर घाइतेहरूलाई तत्काल उद्धार गर्न सफल भए।’ उनले लेखिन् ‘उहाँहरूलाई थप उपचारका लागि नेपालगन्जतर्फ पठाइएको छ। सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। गृहमन्त्री सुधन गुरुङज्यु लाई धन्यवाद ।’
उनले जाजरकोटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले आफूलाई फोन गरेर गृह मन्त्रालयमा समन्वय गरिदिन आग्रह गरेको समेत बताइन्।
उनको पोस्ट पछि लगत्तै भर्खरै मात्र जाजरकोट देखि निर्वाचित प्रतिनिधि सभा सदस्य खडक बहादुर बूढाको पहलमा उद्धार भयो भन्दै उनका कार्यकर्ताले लेखी हाले । उद्धारमा उनी पुगेको फोटो समेत सार्वजनिक भए । खासमा सांसद बूढा घटना हुँदा सुर्खेत थिए , नेपाली सेनाको हेलिकप्टर उद्धारको लागि जाँदै छ भन्ने थाहा पाएपछि घटनास्थलमा जानको लागि उनी सुर्खेत विमानस्थल पुगे। उनी पुग्नु अघिनै हेलीकप्टर जाजरकाेट जान तयारी अवस्थामा थियो ।
नेपाली सेनासंग समन्वय गरेपछि त्यही हेलिकप्टरमा उनी पनि घटनास्थल सम्म चाहिँ पुगे । उनले पनि आफू पुगेपनि उद्धारको पहल नगरेको स्वीकारी सकेका छन् ।


त्यस्तै नलगाड नगरपालिकाकी उपप्रमुख देवका लामिछानेले भने उद्धार श्रेय अरुलाई नै दिइन्। उनले सामाजिक सञ्जालमा उद्धारमा सहयोग गर्ने डा. विशाल उप्रेती, नवीन सर लगायत स्वास्थ्यकर्मी र नेपाली सेनालाई धन्यवाद दिँदै लेख्न भ्याइन्।
कतिले त समाजसेवी अनिल बानियाँले पहल गरेको भन्दै धन्यबाद समेत लेखे।
यी त केही श्रेय लिन खोजेका चर्चित अनुहार मात्रै हुन । कतिले त पैसा समेत आफूले हालिदिएको र उद्धारको श्रेय आफूले लिनु पर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट समेत गरिरहेका छन ।
खासमा घटना भएपछि पीडित परिवार पक्षले तत्काल उद्धारको लागि जिल्ला प्रशासन कार्यालयमा समन्वय गरिदिन आग्रह गरेका थिए ।
त्यसपछि प्रशासनले पहल गर्दा हेलीकप्टर ल्याएर उद्धार गर्न सफल भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दीपेन्द्र बहादुर शाहीले उद्धार कार्य कसैको पहलमा नभई प्रशासनको पहलमा भएको उद्दार गरेको बताए । उनले आफूहरुले गृह मन्त्रालयमा उद्धारको लागि पत्र पठाएपछि हेलीकप्टर पुगेको बताए ।

उता पीडित परिवारले भने आफ्नै खर्चमा उद्धार गर्नुपरेको जानकारी दिएको छ । घाइतेका आफन्त ठालु प्रसाद जैशीका अनुसार प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराए पनि नेपाली सेनाको हेलिकप्टर उडाउनुअघि भाडा आफैंले तिर्नुपर्ने सर्त राखिएको थियो। सेनाको नियमअनुसार अग्रिम भुक्तानीबिना हेलिकप्टर परिचालन नहुने भएकाले परिवारले रकम जोहो गरेर मात्रै उद्धार सम्भव भएको घरधनी जैशीले बताए । ‘ कोही कसैको पहलमा उद्धार भएको होइन, हामीले प्रशासनमा कुरा गरेपछि हेलिकप्टर आएको हो ‘ उनले भने ‘ कसैको पहलमा उद्धार भएको भए निःशुल्क हुनु पर्ने , घटना भएको घण्टौंपछि पैसा हालेपछि मात्रै हेलीकप्टर यहाँ आएको हो।’
परिवारका अनुसार प्रतिघन्टा २ लाख ७० हजार रुपैयाँका दरले उडान शुल्क तिर्नुपर्दा परिवारले कुल ४ लाख ५ हजार रुपैयाँ खर्च बेहोरेको जनाएको छ। बिहानदेखि दिउँसोसम्म रकमको व्यवस्था र उद्धार प्रक्रियाको सम्पूर्ण जिम्मेवारी परिवारले नै सम्हालेको उनीहरूको भनाइ छ।
स्थानीयवासीहरूका अनुसार प्रशासनलाई जानकारी गराउनु र समन्वय गर्नु आफ्नो जिम्मेवारी भए पनि त्यसलाई उद्धारको श्रेयका रूपमा प्रचार गर्नु पीडितको पीडामाथिको असंवेदनशीलता हो। उनीहरूले वास्तविकता नबुझी भ्रम फैलाउने काम नगर्न आग्रह गरेका छन्। हाल घाइते भएकी माया जैशी, उनकी बहिनी रुपा जैशी र छोरा गणेश गौतमको काठमाण्डौं किर्तिपुर स्थित जलन अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ।











