पूर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पा, नेपालको कर्णाली प्रदेश अन्तरगत पर्ने एक जिल्ला हो । सदरमुकाम दुनै रहेको यस जिल्ला ७८८९ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको छ। २०७८ सालको जनगणना अनुसार यहाँको जनसंख्या ४२ हजारको हारहारीमा रहेको छ। क्षेत्रफलको हिसाबले नेपालकै सबै भन्दा ठुलो मानिने डोल्पा नेपालको कूल क्षेत्रफलको ५.३६ प्रतिशत भूभाग ओगटेको छ।
यो जिल्ला सामुन्द्रिक सतहबाट १५२५ देखि ७५२५ मिटर उचाइमा अवस्थित छ । पूर्वमा मुगु, दक्षिण पूर्वमा जुम्ला र रुकुम पश्चिम, दक्षिण पश्चिममा म्याग्दी , पश्चिममा मुस्ताङ र उत्तरमा चीनको स्वायत्त क्षेत्र तिब्बतसंग सीमा जोडिएको छ । जसले गर्दा ऐतिहासिक रूपमा व्यापार र संस्कृतिमा नेपाल-चीनको सम्बद्ध दरिलो बनाएको छ। डोल्पाको उत्तरी सीमावर्ती क्षेत्रहरुले ऐतिहासिक व्यापार मार्गको स्वरूप लिएका छन् । कोरोना काल अघि १२ महिनै सीमावर्ती क्षेत्र खुला हुने गरेका थिए। त्यसपछि भने वर्षमा एक पटक १५/२० दिनको लागि सीमा नाका व्यापारिक प्रयोजनका लागि खुला गरिने गरिएको छ।



फोक्सुण्डो ताल
डोल्पा नेपालकै सबैभन्दा ठूलो जिल्ला भएर पनि विकासका सूचकहरूमा अझै पनि धेरै चुनौतीहरू छन्। तर, यिनै चुनौतीबीच उभिएको छ एउटा आत्मनिर्भर, संस्कृतिपूर्ण र सम्भावनाले भरिएको समाज।
डोल्पा हिमाली सौन्दर्यको जीवित संग्रहालय समेत हो। यहाँ विभिन्न जातजाति , भाषाभाषी र विभिन्न सांस्कृतिक परम्पराले भरीपूर्ण छ। त्यति मात्रै नभई नेपालमा कहींकतै नबोलिने ‘काइके’ भाषाले समेत डोल्पा परिचित छ।

त्रिपुरासुन्दरी मन्दिर
डोल्पामा अवस्थित फोक्सुण्डो ताल, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, जगदुल्ला ताल, त्रिपुरासुन्दरी मन्दिर, व्यासऋषि तीर्थस्थल, कान्जिरोवा हिमाल, मुकुटेश्वर हिमाल, मुड्केचुला तीर्थस्थल, रूपपाटन , छार्काभोट , शे -गुम्बा , बौद्ध धर्मको गहिरो प्रभाव र प्राचीन बोन परम्परा, भु- बनावट, विभिन्न खाले संस्कृति लगाएत यी सबैले डोल्पालाई नेपालकै अनौंठो र विशेष पहिचान बनाएका छन्।

जगदुल्ला ताल
तर यहाँको कथा केवल प्रकृति र संस्कृति मात्र होइन, संघर्ष र सम्भावनाको पनि हो।यहाँका नागरिक अझै पनि आधारभूत पूर्वाधारको पर्खाइमा छन्। विशेष गरी माथिल्लो डोल्पा सडक, शिक्षा, स्वास्थ्य, संचार लगाएतका क्षेत्र अझै दूरदराज छ।

धो तराप उपत्यका
वर्षायाममा यहाँ विकशित शहरहरू संगको सम्पर्क टुटिन्छ, यहाँका नागरिकको हिउँदमा जीवन थलिन्छ। तर यस्ता कठिनाइका बीच पनि डोल्पालीहरू आत्मनिर्भर छन्।
यहाँको परम्परागत जीवनशैली, यार्सागुम्बा लगाएत विविध जडीबुटी संकलन, चौरी पालन र सादा जीवनयापनले यहाँको अर्थतन्त्रलाई टिकाइरहेको छ।

डोल्पा पर्यटनको हिसाबले विशाल सम्भावना बोकेको जिल्ला हो। फोक्सुण्डो ताल हेर्न यहाँ वर्षेनी हजारौं संख्यामा आन्तरिक र बाह्य पर्यटक आउँछन्। साबिकको २३ गाविसलाई टुक्राएर अहिले २ नगरपालिका र ६ गाउँपालिका गरेर ८ ओटा स्थानीय तहमा परिणत गरिएको छ। यदि बेलैमा पूर्वाधारमा निर्माणमा ध्यान दिई लगानी गरियो भने डोल्पा मात्र पर्यटकीय गन्तव्य होइन, नेपालको एक आर्थिक श्रोत पनि बन्न सक्छ।

सदरमुकाम दुनै बजार
डोल्पामा पाइने दुर्लभ जडीबुटी (जस्तै यार्सागुम्बा) ले पनि ठूलो आर्थिक सम्भावना बोकेको छ। तर, त्यसको दिगो व्यवस्थापन आवश्यक छ। यहाँका नागरिकको प्रमुख आयश्रोत नै यार्सागुम्बा लगाएतका जडीबुटी हो।

यार्सागुम्बा

यार्सागुम्बा संकलन गर्दै डोल्पाबासी
हालै डोल्पामा स्थानीय सरकार र नागरिक समाजले मिलेर शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा केही सकारात्मक पहलहरू सुरु गरेका छन्।
संघीयताको पहुँच विस्तारसँगै डोल्पामा विकासको आशा पलाएको छ। साना तर प्रभावशाली पहलहरूले यहाँको भावी पुस्तालाई उज्यालो दिन तर्फ डोर्याउन सक्छ।
डोल्पा नेपालकै सबैभन्दा चुनौतीपूर्ण तर सम्भावनायुक्त भूगोल हो। यहाँको कथा केवल पीडाको होइन, प्रेरणाको पनि हो। विकासको मुहान अझै खोलिन बाँकी छ – तर आत्मसम्मान र संस्कारले बनेको डोल्पा एक दिन परिवर्तनको पर्याय अवस्य बन्न सक्छ।










