ताजा
सोमबार , चैत्र ३०, २०८२

डोल्पा।  हिमालले अँगालो हालेको, निलो आकाशमुनि चम्किने ताल र शान्त जीवनशैलीले सजिएको डोल्पा नेपालको मात्रै होइन, विश्वकै दुर्लभ र मोहक भूभागमध्ये एक मानिन्छ ।

यहाँको प्राकृतिक वैभव यस्तो छ, जसले पहिलो पटक पुग्ने जोकोहीलाई मोहित बनाउँछ । तर कमजोर पूर्वाधार र कठिन पहुँचका कारण डोल्पाको सौन्दर्य अझै पनि सीमित घेराभित्र कैदजस्तै छ ।

त्रिपुरासुन्दरी मन्दिर

डोल्पामा रहेको फोक्सुन्डो ताल, जगदुल्ला ताल, त्रिपुरासुन्दरी मन्दिर, मष्टो परम्परा र बौद्ध संस्कृति बाह्य तथा आन्तरिक पर्यटकका लागि प्रमुख आकर्षण हुन्। स्वच्छ वातावरण, सुन्दर प्रकृति र हिमाली जीवनशैलीले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गर्छ।

फोक्सुण्डो ताल

तर, यति धेरै सम्भावना हुँदाहुँदै पनि डोल्पा पुग्नु अझै सजिलो छैन। सडक सञ्जालको अभावका कारण जिल्लाका अधिकांश स्थानमा पुग्न हप्तौं पैदल हिँड्नुपर्ने अवस्था छ। डोल्पाको सदरमुकाम दुनै र आसपासका तल्लो डोल्पाका केही क्षेत्र राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि माथिल्लो भेग अझै सडक पहुँच बाहिर छन्।

माथिल्लो डोल्पा

अहिले पनि यहाँका नागरिक र पर्यटकको मुख्य भरपर्दो माध्यम हवाई यातायात नै हो। डोल्पा भित्रिनको लागि विकसित सहरहरू बाट जुफाल विमानस्थलमा हुने सीमित उडान, मौसमको अनुकूलता र महँगो भाडाले यात्रा झन् कठिन बनाएको छ।

डोल्पा भित्रिने पर्यटकहरु यहाँको सुन्दरता देखेर चकित पर्ने भएपनि डोल्पा पुग्ने पहुँच कठिन हुदाँ फेरि आउने मनसाय कमैले बनाउने गरेको पर्यटन व्यवसाय नोर्बु लामाले बताए । उनले भने ‘डोल्पामा आउने पर्यटकहरू यहाँको सौन्दर्य देखेर चकित पर्छन्, तर पहुँच कठिन हुँदा धेरैले पुनः आउने योजना बनाउँदैनन्।’

सदरमुकाम दुनै बजार

२०७५ साल मंसिर ४ गते डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिएको घोषणा गरियो। तर घोषणा भएको वर्षौं बितिसक्दा पनि भेरी करिडोर अन्तर्गत पर्ने सडक खण्डले पूर्णता नपाउँदा त्यसको प्रभाव नागरिकको दैनिक जीवनमा खासै देखिएको छैन । जसका कारण जिल्ला भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज पहुँच भने देखिँदैन ।

भेरी करिडोर अन्तर्गत पर्ने जाजरकोट- डोल्पा सडक खण्ड भित्र पर्ने धेरै खोलाहरूमा अझै पक्की पुल निर्माण हुन सकेको छैन। केही स्थानमा बेलिब्रिज निर्माण भए पनि साना खोला–नालाले वर्षायाममा यात्रा कष्टकर बनाउने गरेको छ।

हिउँदयाममा सदरमुकामसम्म सिधा यातायात सञ्चालन हुने भए पनि वर्षायाममा ४/५ ठाउँ गाडी फेर्नुपर्ने बाध्यता रहेको डोल्पाका स्थानीय जुने सार्कीले बताए ।

माथिल्लो डोल्पाका चार वटा पालिका अझै राष्ट्रिय सडक सञ्जालको पहुँचभन्दा टाढा छन्। भेरी करिडोरले पूर्णता नपाउँदा यहाँका नागरिकलाई आज पनि सदरमुकाम पुग्न दिनहुँ पैदल हिँड्नुपर्ने बाध्यता छ। माथिल्लो डोल्पालाई जोड्ने भेरिकरोडोर अन्तर्गत लासीक्याप- सिसौल सडकखण्ड निर्माणले अझै गति लिन सकेको छैन । यो सडकले समयमै गति लिन सके अझै जिल्लामा पर्यटकको संख्यामा वृद्धि सहित त्यहाँका नागरिकको दैनिकी जीविकोपार्जनमा सहज हुने नागरिक समाज डोल्पाका अध्यक्ष शेर बुढाले बताए ।

मुक्पोरोङ हिमाल

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पनि सडक र पुल निर्माणले गति लिन नसक्दा समस्या उस्तै छ। यद्यपि, निर्माणाधीन जगदुल्ला जलविद्युत आयोजनाले यस क्षेत्रको सडक निर्माणमा केही आशा भने जगाएको छ। तर, रुकुम पश्चिम र डोल्पाको सिमाना त्रिवेणीमा निर्माणाधीन पक्की पुल समयमै सम्पन्न नहुँदा सडक विस्तारमा अवरोध भइरहेको आयोजनाले जनाएको छ।

यता, जुम्ला–डोल्पा सडक खण्ड सञ्चालनमा आएपछि जगदुल्ला गाउँपालिका क्षेत्रमा सहजता आएको भए पनि समग्र जिल्लामा यसको प्रभाव सीमित रहेको स्थानीयको भनाइ छ। सडक विस्तार भए पनि अपेक्षित रूपमा पर्यटकको संख्या बढ्न नसकेको उनीहरू बताउँछन्।

सञ्चार र इन्टरनेट सेवाको कमजोर पहुँच अर्को चुनौती हो। धेरै स्थानमा नेटवर्क नहुँदा पर्यटकलाई सूचना लिन र सम्पर्कमा रहन कठिन हुने गरेको छ। जिल्लाका केही क्षेत्रमा अझै पनि सञ्चार र इन्टरनेटको पहुँच बाहिर छन् । सञ्चार नहुँदा माथिल्लो डोल्पाका अधिकांश क्षेत्रमा अझै पनि सूचना लिन र सम्पर्कमा रहन कठिन हुने गरेको छ । जसले गर्दा यहाँका नागरिक देखि आन्तरिक र बाह्य पर्यटकलाई झनै समस्या हुने गरेको छ।

माथिल्लो डोल्पा

यो क्षेत्रमा निरन्तर सञ्चार र इन्टरनेट सेवा विस्तारको लागि नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरेपनि सुनुवाइ हुन नसकेको प्रतिनिधि सभा सदस्य एबम पूर्व मन्त्री धन बहादूर बुढाले बताए ।

डोल्पामा भरपर्दो सडक, हवाई सेवामा सुलभ पहुँच, होटल तथा सञ्चार सुविधा विस्तार गर्न सकियो भने डोल्पा देशकै प्रमुख पर्यटन गन्तव्य बन्न सक्ने सांसद बुढाले जानकारी दिए ।

पूर्वाधार विकासमा पर्याप्त ध्यान पुग्न नसक्दा डोल्पाको पर्यटन क्षेत्र अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन।

प्राकृतिक रूपमा धनी डोल्पा अझै पनि पूर्वाधारको अभावमा पछि परेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण सँगै ‘विश्वकै सुन्दर ठाउँ’ भनेर चिनिए पनि पहुँच कठिन हुँदा यसको वास्तविक सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन।

सदरमुकाम दुनै बजार

जिल्लामा पुग्न सहज पहुँच बनाउन सकियो भने, डोल्पा नेपालकै मात्र होइन, विश्वकै प्रमुख पर्यटन गन्तव्यको रूपमा स्थापित हुन सक्नेछ।

फोक्सुण्डो ताल, जगदुल्ला ताल, कान्जिरोवा हिमाल, बहुमूल्य जडीबुटी यार्सगुम्बाका पाटन, त्रिपुरासुन्दरी मन्दिर, विश्वकै अग्लो स्थानमा रहेको मानवबस्ती, स्थानीय रहनसहन, भाषा संस्कृति, मष्टो परम्परा, बौद्ध संस्कृति, मुकुटेस्वर हिमाल , नन्दचुली हिमाल सहित विभिन्न हिमालका मनोरम दृश्य, छल मष्टो मन्दिर, गल्ली मष्टो मन्दिर, बाविरो मष्टो मन्दिर, फोक्सुन्डो झरना, हिउँचितुवा, नाउर, जस्ता विभिन्न जङ्गली वन्यजन्तु यहाँका मुख्य पर्यटकीय आकर्षकको केन्द्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP