सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको सुरुवात भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर स्थित उत्तर पश्चिम पृतना हेड क्वार्टरमा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको सोमबार देखि सुरु भएको पृतना हेड क्वार्टरले जानकारी दिएको छ ।



कर्णाली प्रदेशका आठ (डोल्पा, जुम्ला, हुम्ला, दैलेख, मुगु, जाजरकाेट, कालिकोट, सुर्खेत) र लुम्बिनीका दुई( बाँके र बर्दिया) जिल्लाका २४ जना सञ्चारकर्मीको उपस्थितिमा चार दिन सम्म संचालन हुने अभिमुखीकरण गोष्ठीको सुरु भएको अभिमुखीकरणकी सञ्चालक तथा उपसेनानी श्रीजना नेपालले जानकारी दिईन ।

कार्यक्रमको शुभारम्भ गर्दै उत्तर पश्चिम हेड क्वार्टरका पृतनापती दिपेसजंग शाहको प्रमुख आतिथ्यतामा उद्घाटन अभिमुखीकरण गोष्ठीको औपचारिक रूपमा सञ्चालन गरिएको थियो । पत्रकारहरूलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका, र विविध गतिविधिहरूको बारेमा सुसूचित गर्नु अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य रहेको पृतनापति शाहले बताएका छन ।

कार्यक्रममा सेनाले राष्ट्रको सुरक्षादेखि विकास र संरक्षणका क्षेत्रमा गरिरहेका योगदानलाई विशेष रूपमा उजागर गरिएको थियो । साथै उनले अहिले बिशम परिस्थितीमा भदौ २३ र २४ गतेको आन्दोलनका बिषयमा अभिमुखिकरणमा समिक्षा र प्रश्न नगर्न पत्रकारलाई आग्रह समेत गरेका थिए । पहिलो दिनको कार्यक्रममा प्रमुख सेनानीहरु संजय अधिकारी, वरुण केसी, महासेनानी जिवन कार्कि र कान्तिपुरकर्मी ज्योति कटुवालले पत्रकार आचारसहिंता र अन्य सुरक्षा संवेदनशिलका बिषयमा प्रस्तुती दिएका थिए ।
नेपाली सेनाले अभिमुखीकरणमा उपस्थित सञ्चारकर्मीहरुलाई सेनाले गरेका उदाहरणीय कामकार्यहरू प्रदर्शन गरिएको थियो ।
चार दिनसम्म सञ्चालन हुने यस अभिमुखीकरणमा नेपाली सेनाको सहायक भूमिका, संरचना, नियमित गतिविधि, वर्तमान सुरक्षा परिवेश लगायतका विषयमा जानकारीमूलक प्रस्तुतीकरण हुने जनाइएको छ। साथै सहभागी सञ्चारकर्मी र स्रोत व्यक्ति बीच अन्तरक्रियात्मक छलफल तथा प्रतिक्रिया आदान–प्रदानका सत्रहरू समेत समावेश गरिएको निर्देशनालयले जनाएको छ।










