काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका लागि आज (शनिबार) चीन प्रस्थान गर्ने भएका छन्। भ्रमणको मुख्य उद्देश्य साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा सहभागीता जनाउनु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ (भदौ १६ गते) तियानजिनमा आयोजना हुने सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका प्रमुखहरू सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ।


भ्रमणको अन्तिम दिन प्रधानमन्त्री ओलीले जापानी उपनिवेशविरुद्ध चीनको विजय तथा विश्व फासिस्टविरोधी दिवसको ८० औं वार्षिकोत्सवमा बेइजिङस्थित तियानमिन स्क्वायरमा आयोजना हुने विशेष समारोहमा सहभागिता जनाउने कार्यक्रम छ।
उक्त समारोहमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन, कम्बोडियाका राजा सिहामोनी लगायत २६ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको उपस्थिति रहनेछ।
प्रधानमन्त्री ओली सँगै भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा लगायत उच्च अधिकारीहरूको सहभागिता रहनेछ।
सन् २०१६ मा संवाद साझेदारका रूपमा एससिओमा आबद्ध नेपालले पहिलो पटक यस शिखर सम्मेलनमा उच्चस्तरीय उपस्थिति जनाउने भएको हो। एससिओमा भारत, चीन, रुस, पाकिस्तान, इरान, बेलारुस लगायत १० देश पूर्ण सदस्य रहेका छन्, भने नेपाल सहित १५ देश संवाद साझेदारको रूपमा आबद्ध छन्।











