पूर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पाको प्रसिद्ध धार्मिक एबम् पर्यटकीय स्थल श्री बाला त्रिपुरासुन्दरी मन्दिरमा फूलपाती भित्र्याइएको छ ।
विजयदशैंको सातौं दिन फूलपातीमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ स्थित त्रिपुराकोटमा रहेको आराध्यदेवी भगवतीको मन्दिरमा फूलपाती भित्र्याइएको हो ।
त्रिपुराकोटमा रहेको नेपालकै प्रमुख शक्तिपीठ एबम् नवदुर्गा भगवतीको उद्गम स्थलको रुपमा समेत रहेको श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा फूलको डोलासहितको फूलपाती मन्दिरका फुलहाराहरुले काँधमा बोकेर पन्चे बाजागाजाका साथ धुमधामले पुजाआजा गरेर भित्र्याइएको हो।


मुलछहरामा रहेको फूलपाती मन्दिरमा फूलहारा (फूलपाती सहितको डोला बाक्ने)हरुले फूलपातीको अघिल्लो दिनबाट डोल्पा जिल्लाका लिकु, दापु,पहाडा रंग र रुम लगायतका गाउँहरुमा रहेका फूलवारीमा उमारिएको फूल र फल संकलन गरेर फूलपाती मन्दिरमा रातभर जागा बसेर फूलमाला गाँसेर पुजाआजा सहित राखिएको फूल र फलफूलको डोलीलाई पुजाआजा गरेर भित्र्याइने चलन छ।
यसरी मन्दिरका फूलहाराहरुले बिशेष सुरक्षाका साथ बोकेर ल्याइएको फूलपातीलाई त्रिपुराकोटको खौलोस्थित मन्दिरमा बिशेष पुजाआजा गरेर मुलमन्दिर श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा भित्र्याइएको छ। फुलाराहरुले बोकेर ल्याइएको फूलपातीलाई कोट खौलो मन्दिरमा पूजाआजा गर्दा नेपाल प्रहरीले सलामी समेत दिने चलन छ।
यसरी महासप्तमीको दिनमा मन्दिरमा बिशेष पूजाआजा सहित भित्र्याइएको फूलपातीलाई मुल मन्दिरमा राखी पूजाआजा गरेसंगै डोल्पाका प्रत्येक घरमा घटस्थापनामा राखिएको जमरा थलोमा मार्सी, मकै, तिल, फुल र धानको बाला सहितको बिरुवा ल्याएर फूलपातीको रुपमा थापना गरिएको छ।
यसरी फूलपातीको रुपमा सर्वसाधारणले घरघरमा फुलपाती भित्र्याउनाले शुभलक्षण हुने र नवदुर्गा लक्षमीको बास हुने जनबिश्वास रहँदै आएको छ।
घरघरमा भित्राइएको फूलपाती दशैंटिकाको दिनमा जमरा टिका लगाएर प्रसाद ग्रहण गरिसकेपछि गंगा नदीमा सेलाउने प्रचलन डोल्पामा छ।
आज फूलपाती भित्र्याउने शुभ साइत बिहान ७:१७ मिनेटमा भएपनि डोल्पामा भने आफ्नै साइतमा साँझ फूलपाती भित्र्याउने प्रचलन रहि आएको छ।
तस्बिर: पूर्ण सार्की/ रंगीन पाटी












