सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा बिहीबार राति भएको आगलागीमा दुई जना घाइते भएका छन् भने तीन घर जलेर नष्ट भएका छन्।
आगलागीमा परेर स्थानीय लैबा फडेरा र बम्बु फडेरा जलेर घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला, सिमकोट पठाइएको सर्केगाड गाउँपालिका–२ का वडा अध्यक्ष सिद्ध कार्कीले जानकारी दिए।


आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने रमेश महताराको घरभित्र रहेका सामग्री जलेर क्षति भएको छ। हालसम्म आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठका अनुसार आगलागी रातिको समयमा भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको थियो। आगलागी नियन्त्रणका लागि प्रहरी टोली खटिएको र घटनाको कारण तथा क्षतिको विवरण संकलन भइरहेको उनले बताए।
आगलागी गएराति करिब ११ बजे सुरु भएको बताइएको छ।











