पूर्ण सार्की/ डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको वास ईकाई शाखा( सुस्वा) ले सबैका लागि स्वच्छ, सफा खानेपानी पुऱ्याउन पालिका भित्रका सबै वडाहरुमा पालिका स्तरीय निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने वास ईकाई शाखाका प्रमुख धन प्रसाद बुढाले रंगिन पाटीलाई जानकारी दिए।


वास ईकाईले खानेपानीको अवस्था मूल्याङ्कन गर्न, सुरक्षित तथा स्वच्छ पानी प्रयोगमा सचेतना बढाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उद्येश्य सहित पालिका भित्रका वडाहरुमा रहेका सबै खानेपानीलाई लक्षित गर्दै यही पुस १४ गते सोमबार देखि पुस २१ गते सम्म पालिका स्तरीय खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएको हो।
शाखाका अनुसार पालिका भित्रका १,२,३ र ४ नं वडाको क्रमशः १४,१५, र १६ गते नगरपालिकाको कार्यालयमा , ५ र ६ नं वडाको क्रमशः १७ र १८ गते खदाङमा , ७ र ८ नं वडाको १९ गते ७ नं वडा कार्यालयमा, ९, १० र ११ नं वडाको २० र २१ गते १० नं वडा कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन गरिने छ ।
नगरपालिकाको वाश ईकाइमार्फत सञ्चालन हुने यस शिविरमा सम्बन्धित वडाभित्र रहेका खानेपानी तथा सरसफाइ योजनाको पानीको गुणस्तर परीक्षण गरिनेछ।

शिविरमा परीक्षणका लागि मुहानको पानी, ट्याङ्की, धारा तथा घरमा पानी भर्ने भाँडोसहित चारवटा स्थानबाट पानीको नमुना संकलन गरी परीक्षण स्थलसम्म पुर्याउन खानेपानी उपभोक्ता समिति तथा सरोकारवालालाई अनुरोध गर्दै वास इकाईले १ देखि ११ वडा र सम्पूर्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई शिविर सफल बनाउन आवश्यक समन्वय तथा सहकार्य गर्न आग्रह समेत गरेको छ।
हेर्नुहोस् सूचना

जनहितमा जारी सन्देश

















