डोल्पा— हिमाली जिल्ला डोल्पाका विभिन्न पालिकामा ‘महिनावारी मैत्री समाजका लागि सहकार्य’ भन्ने नाराका साथ विश्व महिनावारी स्वच्छता दिवस २०२५ विविध जनचेतनामूलक कार्यक्रमसहित मनाइएको छ।



डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र वास एकाई शाखा (सुस्वा) को सहकार्यमा सामुदायिक विद्यालय तथा खानेपानी योजना क्षेत्रहरूका समुदायमा महिनावारी स्वच्छता दिवस मनाइएको त्रिपुरासुन्दरी नगरपालिकाका वास एकाई संयोजक धन प्रसाद बुढाले जानकारी दिए।

दिवसको अवसरमा त्रिपुरा माध्यमिक विद्यालय, काटियाचौरमा वक्तृत्वकला, महिनावारी सम्बन्धि सडक नाटक सहित विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूबीच आयोजित ‘महिनावारी मैत्री समाजका लागि सहकार्य’ भन्ने विषयको वक्तृत्वकला प्रतियोगितामा त्रिपुरा माविकी छात्रा गणेशा न्यौपाने र अम्बिका कठायतले संयुक्त रूपमा प्रथम स्थान हासिल गरे भने राधा देवकोटा द्वितीय तथा हजारी सार्की तृतीय भएका थिए।कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले महिनावारी सम्बन्धी जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका थिए।

त्यस्तै सुस्वा कै सहकार्यमा त्रिपुरासुन्दरी ०९ चु गाउँमा खानेपानी आयोजनाका उपभोक्ता समिति तथा स्थानीय समुदायको उपस्थितिमा समेत दिवस मनाइएको छ।

त्रिपुरा माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रम सुरु हुनु पूर्व नगरपालिका स्वास्थ्य शाखामा कार्यरत पुस्पा रावतले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई महिनावारीको अवधिमा अपनाउनुपर्ने सरसफाइ, पौष्टिक खानपान र व्यवहारगत पक्षका बारेमा जानकारी दिएकी थिइन्।

त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरका प्रधानाध्यापक तुल बहादुर विष्टले यस्तो जनचेतनामुलक कार्यक्रम आफ्नो विद्यालयमा गर्न पाउँदा विद्यालय परिवार तर्फबाट आयोजक टीम स्वास्थ्य शाखा र सहकार्य गर्ने वास एकाई (सुस्वा) लाई धन्यवाद व्यक्त गरे। डोल्पामा महिनावारी भएको बेला अझै पनि फरक दृष्टिकोणले हेर्ने र परिवारका सदस्य तथा भान्सा भन्दा अलगै राख्ने चलन छ। यसलाई न्यूनीकरण तथा प्रभावकारी बनाउन सम्बन्धित निकायहरुले यसरी नै समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रमको आयोजना गर्नु पर्ने प्रधानाध्यापक विष्टले बताए।

कार्यक्रममा प्र.अ विष्ट सहित विद्यालयका शिक्षक,शिक्षिका, , स्वास्थ्य शाखाको नी.वर्तमान प्रमुख तुल बहादुर श्रेष्ठ, स्वास्थ्यकर्मी रावत, विद्यालयमा अध्ययनरत विद्यार्थी लगायत नगरपालिका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो।
कार्यक्रम फोटो फाइल


















