डोल्पा । हिमाली जिल्ला डोल्पाका एक युवा सशस्त्र प्रहरी सिपाहीले ६ हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।
जिल्लाको मुड्केचुला गाउँपालिका-०९ होर्त स्थायी घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म दुनैमा कार्यरत प्रहरी जवान तुलराम बुढाले मनाङस्थित ६,०३८ मिटर अग्लो चुलु फार इष्ट हिमाल सफलतापूर्वक आरोहण गरेका हुन्।


सशस्त्र प्रहरी बलको माउन्टेन तालिम अन्तर्गत सञ्चालन गरिएको आरोहण अभियानमा सहभागी बुढाले २०८३ साल वैशाख २९ गते मंगलबार बिहान ६:४४ बजे हिमालको चुचुरोमा पुगेर सफलता हासिल गरेका थिए। उनले चुलु फार इष्ट हिमाल आरोहण पछि नेपालको राष्ट्रिय झण्डा फहराउँदै हिमालको शिखर चुमेका हुन्।
पहिलोपटक हिमाल आरोहणको अवसर पाएका बुढाले यो सफलता आफ्नो जीवनको अविस्मरणीय उपलब्धि भएको बताएका छन्। ‘नेपालको झण्डा बोकेर ६ हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गर्न पाउँदा अत्यन्त गर्व र खुसी लागेको थियो ‘ उनले भने।
उनका अनुसार पहिलो हिमाल आरोहणमै प्राप्त सफलताले आगामी दिनमा अझ अग्ला हिमालहरू चढ्ने आत्मविश्वास र उत्साह थपिएको छ।
सशस्त्र प्रहरी बलको तालिममार्फत प्राप्त अवसरलाई सदुपयोग गर्दै कठिन हिमाली चुनौती पार गरेका बुढाले युवा पुस्ताका लागि उदाहरण समेत प्रस्तुत गरेका छन्। उनको सफल आरोहणले डोल्पाको पहिचान र सम्भावनालाई राष्ट्रिय स्तरमा थप उजागर गरेको स्थानीयवासीले बताएका छन् ।
हेर्नुहोस् तस्बिर












