डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-०१ त्रिपुराकोटस्थित स्थानीयवासीले मसानघाटसम्म जाने बाटो तकाल खुलाई सहज बनाउन माग गरेका छन् ।
त्रिपुरासुन्दरी युवा नागरिक मञ्चको अगुवाइमा स्थानीय सरोकारवालाले सोमबार त्रिपुरासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरलाई ज्ञापनपत्र बुझाउँदै विद्युत् सबस्टेसन निर्माणका क्रममा अवरुद्ध भै असहज भएको मसानघाटसम्म जाने बाटो तत्काल निर्माण गरी सहज आवागमनको व्यवस्था गर्न १५ दिने अल्टिमेटम सहितको माग गरेका हुन् ।



ज्ञापनपत्र बुझाउँदै त्रिपुराकोटस्थित सार्की टोल, कठायत टोल, ब्राह्मण टोल, विष्ट टोल तथा बगरका करिब ४ सय घरधुरीले परापूर्वकालदेखि बगर बजार क्षेत्रको गल्लीगाड खोला र भेरीनदीको दोभानमा प्रयोग गर्दै आएको मसानघाटसम्म पुग्ने बाटो विद्युत प्राधिकरणको सबस्टेसन निर्माणका क्रममा साँघुरो र जोखिमपूर्ण बनेपछि पालिकालाई खुलाउन र सहज बनाउन माग गरिएको युवा नागरिक मञ्चका प्रस्तावित अध्यक्ष पूर्ण प्रसाद हमालले जानकारी दिए ।
उनका अनुसार पालिकाका जनप्रतिनिधिहरुले ठाडो आदेशमा नेपाल विद्युत् प्राधिकरणलाई सबस्टेसन निर्माणका लागि जग्गा उपलब्ध गराइएपछि मसानघाट जाने बाटो प्रभावित भएको हो।
सबस्टेसन निर्माणको क्रममा पालिकासँग भएको छलफलमा शव दाहसंस्कारका लागि प्रयोग हुने मसानघाटसम्म सहज पहुँचको व्यवस्था गर्ने सहमति भए पनि करिब दुई वर्ष बित्न लाग्दा समेत समस्या समाधान नभएको उनीहरूको गुनासो छ।
हाल मृतकको शव बोकेर मसानघाट जाँदा मलामी लड्ने तथा शवसमेत भुइँमा खस्न सक्ने जोखिम रहेको भन्दै स्थानीयले तत्काल बाटो निर्माण गर्न माग गरेका छन्।
स्थानीयवासीले १५ दिनभित्र बाटो निर्माण गरी आवागमन सहज नबनाइए कानुनी उपचार खोज्ने तथा जिम्मेवार पदाधिकारी र कर्मचारीविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएका छन्।












