डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
त्रिपुरासुन्दरी नगरपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय डोल्पाको सहजीकरणमा यही जेठ २५ र २६ गते त्रिपुरासुन्दरी नगरपालिका ०१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा दुई दिने निशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाले जानकारी दिएको छ।



दुई दिन सम्म चल्ने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा छाला, आँखा, दन्त रोग, पेट तथा छातीको चेकजाँच सगै भिडियो एक्सरे सेवा प्रदान गरिने स्वास्थ्य सेवा कार्यालय डोल्पाका सूचना अधिकारी तथा कार्यक्रम फोकल पर्सन दयानन्द गौडले जानकारी दिए।

स्वास्थ्य सेवा कार्यालय डोल्पा र त्रिपुरासुन्दरी नगरपालिका बीचको एक बैठकमा दुवै पक्ष बीच दुई दिने निशुल्क विषेशज्ञ स्वास्थ्य शिविर राख्ने भनी निर्णय गरिएको थियो।
शिविर यहाँका स्थानीय बासिन्दाका लागि लाभदायी हुने र सबैलाई शिविरमा उपस्थित भै आफ्नो स्वास्थ्य चेकचाज गर्न स्वास्थ्य सेवा कार्यालय डोल्पाले अनुरोध गरेको छ।
शिविरमा नगरपालिका भित्रका बासिन्दा सगै जिल्ला भरका नागरिकले समेत सेवा लिन पाउने छन्।











