बम बहादुर सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आज देखि सञ्चालन भएको छ।
एकीकृत जनस्वास्थ्य अन्तर्गत स्वास्थ्य सेवा कार्यालय डोल्पा र KAHS, जुम्लाको संयुक्त आयोजनामा त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ०१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा आज देखि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको औपचारिक रुपमा सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका सूचना अधिकारी तथा कार्यक्रम फोकल पर्सन दयानन्द गौडले जानकारी दिए।


दुई दिन सम्म चल्ने निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा छाला, आँखा, दन्त रोग, पेट तथा छातीको चेकजाँच सगै भिडियो एक्सरे सेवा प्रदान गरिने छ ।

स्वास्थ्य शिविर यहाँका स्थानीय बासिन्दाका लागि लाभदायी हुने र सबैलाई शिविरमा उपस्थित भै आफ्नो स्वास्थ्य चेकचाज गर्न स्वास्थ्य सेवा कार्यालय डोल्पाले अनुरोध गरेको छ। 
शिविरमा नगरपालिका भित्रका बासिन्दा सगै जिल्ला भरका नागरिकले समेत सेवा लिन पाउने छन्। शिविरको पहिलो दिनमा उत्साहजनक सहभागिता देखिएको छ। आज देखि शुरु भएको विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर भोलि सम्पन्न हुनेछ। 














