डोल्पा: डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकामा पहिलो पटक महिलाको पूर्ण सहभागितामा विकास निर्माणको योजना कार्य अगाडि बढाइएको छ। गाउँपालिकाको वडा डा नं २ स्थित काइगाउँ बजारमा निर्माण भइरहेको ढल निकास योजना महिलाको सक्रिय सहभागिता सहित कार्यान्वयन भइरहेको हो।



गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याएका १७ विकास योजनामध्ये उक्त योजना ‘नमूना आयोजना’ को रुपमा अगाडि बढाएको हो।
युक्त ढल निकास निर्माण योजना उपभोक्ता समितिको नेतृत्व स्थानीय महिला लक्ष्मी बुढाथोकीले गर्दै आएकी छिन्। योजना निर्माणमा महिलाको नेतृत्व र सहभागिता सुनिश्चित गर्न गाउँपालिकाले कार्यविधि समेत निर्माण गरेको छ। स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत प्रविधिक सहयोग प्राप्त यो योजनामा ७८ घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ।
योजनामा काम गर्ने २० जना महिला कामदारलाई ४० दिनसम्म रोजगारी समेत सिर्जना भएको छ। उपभोक्ता समिति गठनदेखि नै महिलाको सहभागिता सुनिश्चित गर्दै परम्परागत ‘महिलालाई योजना निर्माणमा नराख्ने’ धारणालाई तोड्ने प्रयास गरिएको गाउँपालिकाका उपाध्यक्ष अमृता लामाले जानकरी दिइन्।
उपाध्यक्ष लामाले योजना सम्पन्न भएपछि धाराको पानी र घरको फोहोर पानीको समुचित व्यवस्थापन हुने बताउँदै, यसले स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
गाउँपालिकाले यस वर्षदेखि उपभोक्ता समिति गठन तथा योजना संचालनमा समावेशीता र महिला सहभागितालाई प्राथमिकतामा राख्दै नयाँ कार्यविधि समेत पारित गरेको छ।











