बम बहादुर सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालित दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय ३४ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्।


एकीकृत जनस्वाथ्य अभियान अन्तर्गत स्वास्थ्य सेवा कार्यालय डोल्पा र KAHS, जुम्लाको संयुक्त आयोजनामा आईतबार देखि त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ०१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा सञ्चालित दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य परीक्षण सहितको सेवा ४३४ जनाले लिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका सूचना अधिकारी तथा कार्यक्रम फोकल पर्सन दयानन्द गौडले जानकारी दिए।

दुई दिन सम्म चलेको निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरमा छाला, आँखा, दन्त रोग, पेट तथा छातीको चेकजाँच सगै भिडियो एक्सरे सेवा समेत प्रदान गरिएको थियो ।

दुई दिन सम्म सञ्चालित स्वास्थ्य शिविरको सोमबार औपचारिक रूपमा समापन गरिएको छ। शिविर त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय बासिन्दाका लागि लाभदायी भएको र यसको आयोजना गर्ने स्वास्थ्य सेवा कार्यालय डोल्पा र KAHS, जुम्लालाई त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले धन्यबाद व्यक्त गरे।

शिविरको पहिलो दिनमा २ सय १० जना र दोश्रो तथा अन्तिम दिनमा २२४ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्।
शिविरमा नगरपालिका भित्रका बासिन्दा सगै जिल्ला भरका नागरिकले समेत सेवा लिएको जानकरी दिईएको छ।











