प्रमिला  विश्वकर्मा / बाँके । बाँकेकाे नेपालगञ्जमा  असोज ३ गते हुने भनिएको ‘नेपालगञ्ज १० नाइट रन’ स्थगित गरिएको छ। देशको विषम परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि कार्यक्रम स्थगित गरिएको नाइट रन आयोजक समितिले जानकारी दिएको छ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्यता प्राप्त गरेपछि नेपालगञ्जमा दोस्रो संस्करण आयोजना गर्ने तयारी भएको थियो। एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार युवाहरुको ऐतिहासिक आन्दोलन र त्यसपश्चात भड्किएको हिंसात्मक घटनाले मुलुक शोकमग्न अवस्थामा रहेको कारण तत्कालै दौड आयोजना गर्न उपयुक्त नहुने बताएका छन् ।

ठकुरीले उपयुक्त समयमा पुनः कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिँदै धावक तथा दौडप्रेमीहरूलाई परेको असुविधाप्रति क्षमायाचना गरे। उनका अनुसार सयौँ व्यवसायिक धावकहरूले अनलाइन फर्म भरेका र विभिन्न स्थानबाट निरन्तर जिज्ञासा आइरहेका बेला कार्यक्रम स्थगित गर्नुपर्ने परिस्थितिले आफूहरू दुःखी भएको बताए।

यस वर्षदेखि विजेतालाई थाइल्याण्डको बाङ्सेनमा हुने विश्व स्तरीय सडक दौडमा सहभागी गराउने तयारीसमेत गरिएको थियो, जसले खेलाडीलाई नयाँ उत्साह थपेको ठकुरीले बताए।

नाइट रन स्थगित भए पनि आयोजक टिमले असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगञ्ज म्याराथन को तयारीलाई भने निरन्तरता दिएको छ। साथै स्थानीय तहमा सरसफाइ तथा सामाजिक कार्यमा समेत टिम परिचालन हुने जानकारी दिइएको छ।

नेपालगञ्ज म्याराथन २०७२ सालदेखि सुरु भएको हो। मधेस आन्दोलनका कारण समाजमा देखिएको विभाजनलाई कम गर्दै समुदायलाई एकजुट बनाउने उद्देश्यले सुरु गरिएको यो म्याराथन पछिल्ला ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ। धारा नेपालगञ्ज म्याराथनलाई सम्भवतः नेपालको शीर्ष सडक दौड इभेन्टका रूपमा लिइन्छ। साथै, एम्सका दुई इभेन्ट पूर्णकालीन सदस्यता प्राप्त गर्ने नेपालगञ्ज सम्भवतः नेपालको एक मात्र शहर बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP