डोल्पा । हिमाली जिल्ला डोल्पाबाट चौथो पटक निर्वाचित भएका प्रतिनिधि सभा सदस्य धन बहादूर बुढाले आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
सांसद बुढाले डोल्पाली जनताले निरन्तर दिएको विश्वासप्रति आभार व्यक्त गर्दै आफूले पाउने सेवा सुविधा व्यक्तिगत लाभभन्दा समाजको हितलाई प्राथमिकतामा राख्ने बताएका हुन्। उनले आफ्नो कार्यकालमा प्राप्त हुने तलब–भत्ता लगायतका सेवा–सुविधा नलिई जिल्लाका विपन्न, दुःखी तथा पीडित नागरिकहरूको सहयोगमा खर्च गर्ने जानकारी दिए ।


यसअघि पनि उनले विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। विशेषगरी उनले जिल्लाका विपन्न वर्गलाई सहयोग, मन्दिर तथा गुम्बा निर्माण र पुनर्निर्माणमा आफूले निरन्तर योगदान दिँदै आएको बताए।
बूढा डोल्पादेखि निरन्तर २०७०, २०७४, २०७९ र २०८२ को निर्वाचनमा विजयी भएका थिए ।

उनले निर्वाचित भए लगत्तै त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडास्थित कस्तूरी माध्यमिक विद्यालयलाई मोटरसाइकल खरिदका लागि २ लाख रुपैयाँ सहयोग गरेका छन्।
विद्यालयसम्म सडक पहुँच पुगे पनि मोटरसाइकल खरिद गर्न आर्थिक अभाव भएपछि विद्यालयको दैनिक कामकाजलाई सहज बनाउन आफूले सहयोग गरेको सांसद बुढाले बताए ।











