डोल्पा — यार्सागुम्बा संकलन गर्न डोल्पा पुगेका जाजरकोटका एक युवकको डोल्पा जिल्लास्थित नावरपानी बन क्षेत्रमा निधन भएको छ। जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ८ का १९ वर्षीय धन बहादुर विकको नावरपानी यार्सा पाटनमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।



प्राप्त जानकारीअनुसार, धन बहादुर यार्सागुम्बा टिप्नका लागि काईके गाउँपालिका क्षेत्र भित्र पर्ने नावरपानी लेख क्षेत्र पुगेका थिए। यहीं उनले ज्यान गुमाएका हुन्। घटनापछि डोल्पा जिल्ला काईके गाउँपालिका अन्तर्गत पर्ने बन्ठाडा उरुटोल प्रहरी चौकीका इञ्चार्ज महेश महराको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतकको शव फेला पारी उद्धार गरेको छ।

मृतक विकको शवलाई उद्दार गरी स्ट्रेचर मार्फत जिल्ला अस्पताल डोल्पा ल्याउँदै नेपाल प्रहरी फोटो: उत्तम रोकाया
प्रहरी टोलीले दुर्गम भौगोलिक अवस्थाका बाबजुद मृतकको शव आफैं बोक्दै सुरक्षित रूपमा जिल्ला सदरमुकाम दुनै पुर्याएको जनाएको छ। यार्सागुम्बा संकलनका क्रममा वर्षेनी यस्ता दुःखद घटनाहरू घट्दै आइरहेको छ।
मृतकको शव पोष्टमार्टम तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला अस्पताल पठाइएको जनाइएको छ। मृतक विकको शवलाई पोष्टमार्टम गरी आफन्तलाई बुझाउने प्रकिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
यो वर्ष पनि विगतको तुलना झै केहीले डोल्पाका यार्सा पाटनमा ज्यान गुमाएका छन्। वर्षेनी ज्यान गुमाउनेमा जिल्ला भित्रका भन्दा बाहिरी जिल्लाका रहेका छन्। छोटो समयमा मनग्न्य आम्दानी हुने आशले यार्सा सङ्कलन गर्न हजारौको संख्याको हारहारीमा डोल्पाका उच्च हिमाली यार्सा पाटनमा पुग्ने गर्छन्। अत्याधिक जाडो र उच्च हिमाली लेखका कारण लेख लागेर मृत्यु हुने गरेको छ।











