डोल्पा: डोल्पाको साईकुमारी यार्सा पाटनमा एक युवतीको मृत्यु भएको छ। ठुलिभेरी नगरपालिका–५ माझफालकी २४ वर्षीया शान्ती रोकायाको साईकुमारी यार्सा पाटन स्थित असारे भन्ने ठाउँमा लेख लागेर उनको मृत्यु भएको हो।
मंगलबार राति करिब १२ बजे तिर यार्सा सङ्कलन गर्न पाटन पुगेको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि लेख लागेर उनको मृत्यु भएको बताइएको छ। उता जिल्ला प्रहरी कार्यालय डोल्पाले भने मृत्युको खबर हामी कहा आई नपुगेको जानकारी दिएको छ।


विगतको समय झै यो वर्ष पनि डोल्पाका यार्सा पाटनमा धेरैले ज्यान गुमाएको देखिन्छ। भौगोलिक विकटता र टेलीफोन सम्पर्क हुन नसक्दा यो वर्ष डोल्पाका यार्सा पाटनमा कतिले ज्यान गुमाए भन्ने यकिन भने हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार यो वर्ष जगदुल्लाको कागमारा यार्सा पाटन क्षेत्रमा जुम्लाका भिमबहादुर बाेहाेरा र काइकेको नावरपानी क्षेत्रको यार्सा पाटनमा जाजरकोटका धन बहादुर विकको मृत्यु भएको छ। यद्यपि डोल्पाका विभिन्न यार्सा पाटनमा हाल सम्म ४/५ जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ।
यार्सा पाटनमा मृत्यु हुनेका आफन्तहरूले पोस्ट्मार्टम गर्नु पर्ने र शवलाई बोकेर जिल्ला हस्पिटल सम्म ल्याउनु पर्ने झन्झटले गर्दा पनि मृत्यु हुनेको जानकारी स्थानियहरुले प्रहरीलाई गराएका छैनन ।











