काठमाण्डौ: भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि नहटेसँगै आजको संसद् बैठक पनि अनिश्चित बनेको छ ।
संसद्को गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्ष दलहरूबीच निरन्तर छलफल जारी छ ।आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए ।तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।


स्रोतका अनुसार, कांग्रेसले अघि सारेको मध्यमार्गी प्रस्तावमा नेकपा माओवादी केन्द्रले सहमति जनाइसकेको छ । यद्यपि रास्वपा त्यसमा तयार नदेखिएको हो ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, छानबिन समिति वा संयन्त्र के बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन् । जेठ १५ गते बजेट ल्याउन दिएता पनि अन्य दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
यसबीचमा प्रतिनिधि सभाका बैठक ११ पटक सूचना टाँस गरेर स्थगित भए । यो पृष्ठभूमिमा सभामुख घिमिरेले अब संसदको अवरोध खुल्ने विषयमा पहल भइराखेको जानकारी सदनलाई गराएका हुन् ।











