डोल्पा: डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट स्थित छलगाड लघु जलविद्युत पुनः सुचारु भएको छ।
गत श्रावण २९ गते छलगाड खोलामा आएको बाढीले विद्युतको मुख्य नहर भत्काउँदा त्रिपुरासुन्दरी १ का झण्डै ३५० घरधुरी हप्तौं दिन भन्दा बढी समय अन्धकारमा बसी रहेका थिए।
विद्युत सेवा अवरुद्ध भएका कारण त्रिपुराकोटका स्थानीयको दैनिक जीवनयापनमा समेत समस्या भइरहेको थियो। रातिको समयमा यहाँका नागरिक झरो, टर्च र मट्टितेल , तेलको दियोमा भर पर्न बस्न बाध्य भएका थिए।


विद्युत सेवा अवरुद्ध भएपछि पटक पटक विद्युतको मुख्य नहर बनाउन धेरै पटक प्रयास गरिएको थियो। तर छलगाड खोलामा निरन्तर बाढी आई खोलामा बहाव नघटेका कारण निर्माण कार्यलाई बाधक बनाइरहेका कारण विद्युत सुचारु गर्न नसकिएको त्रिपुरासुन्दरी १ का वडा अध्यक्ष रामचन्द्र कुलाले जानकारी दिए। छलगाड खोलामा आउने बाढीले वर्षेनी बर्खाको समय विद्युत अवरुद्ध हुने गरेको छ।
अहिले खोलामा बहाव घटेपछि त्रिपुराकोटका स्थानीयको सक्रिय श्रमदान मार्फत विद्युत सेवालाई पुनः सुचारु गर्न सफल भएको विद्युतका प्राविधिक कमल प्रसाद हमालले जानकारी दिए। उनले भने ‘ अहिले अस्थायी रूपमा नहर मर्मत गरी विद्युत सुचारु गरेका छौं , विद्युतलाई दीर्घकालीन रूपमा सुरक्षित र दिगो बनाउन थप प्राविधिक काम आवश्यक रहेको छ।’

शे- फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, डब्लु डब्लु एफ को सहयोगमा २०६४ सालमा ३३ किलोवाट क्षमतामा निर्मित विद्युत अहिले जीर्ण अवस्थामा छ।











