डोल्पा । हिमाली जिल्ला डोल्पामा जेठ महिनाको अवधिमा लेक लागेर २ जनाको मृत्यु भएको छ भने १२ जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार एक जना बिरामीको प्रहरी टोलीले उद्धार गरेको जनाएको छ।
प्रहरीका अनुसार जेठ महिनामा आगलागी, हावाहुरी, लेक लाग्ने र अन्य गरी ४ वटा विपद्का घटना भएका थिए। यस अवधिमा ढुंगा खसेर एक जनाको मृत्यु भएको र अन्य विपद्बाट करिब २ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको र विपद् व्यवस्थापनका लागि २५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।


प्रहरीले डोल्पाले जेठ महिनामा विभिन्न अपराध नियन्त्रण, शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै उल्लेखनीय कार्यसम्पादन गरेको जनाएको छ।
प्रहरीले बुधबार सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार जेठ महिनामा कुल १० वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये ज्यान मार्ने उद्योग १, डाँकाचोरी १, लागुऔषध १, भवितव्य ज्यान ५, अभद्र व्यवहार १ र जुवा सम्बन्धी १ मुद्दा रहेका छन्। ती मुद्दामा १२ जना प्रतिवादी रहेका छन्।
फैसला कार्यान्वयन अन्तर्गत १ जनालाई पक्राउ गरी २ लाख ५० हजार रुपैयाँ जरिवाना र १४ हजार रुपैयाँ क्षतिपूर्ति असुल गरिएको प्रहरीले जनाएको छ। उक्त महिनामा हराएको निवेदन परेका एक जना फेला पारिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी १ वटा उजुरी परेको थियो। घरेलु हिंसा सम्बन्धी १ वटा उजुरी मिलापत्रमार्फत टुंग्याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए।
उनका अनुसार प्रहरीले प्रत्यक्ष रूपमा परेका १६ वटै ठाडो उजुरी फर्छ्योट गरी जिल्ला प्रशासन कार्यालयमार्फत आएका ८ उजुरीमध्ये ३ वटा फर्छ्योट हुँदा ५ वटा कार्यान्वयनको प्रक्रियामा रहेका छन् म
जेठ महिनामा ६० ग्राम २६ मिलिग्राम लागुऔषध बरामद गरिएको छ। अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै एलआरपी, एसआरपी र सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो।
शान्ति सुरक्षाका लागि ४४ वटा एलआरपी, २ हजार ४९४ वटा एसआरपी, ५५३ वटा पिकेट, ५३७ वटा चेकिङ र ४६५ वटा ग्रामीण गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ।
यस्तै, जेठ महिनामा २ वटा सवारी दुर्घटनामा १० जना घाइते भएका थिए भने सबैको प्रहरीले उद्धार गरेको थियो। सवारी चेकजाँचका क्रममा ४९ वटा कारबाही गरी ५५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।
प्रहरीको प्राकृतिक स्रोत दोहन नियन्त्रण अभियान अन्तर्गत ठूलीभेरी नगरपालिका-३ दुनैस्थित भेरी नदीमा अवैध उत्खनन गरिरहेका २ वटा सवारी साधन नियन्त्रणमा लिई स्थानीय तहलाई बुझाइएको थियो।
साथै यार्सापाटन क्षेत्र खुल्नुअघि अवैध रूपमा प्रवेश गरेका ६ जनालाई नियन्त्रणमा लिई ८० हजार रुपैयाँ जरिवाना गरी सम्बन्धित स्थानीय तहलाई बुझाइएको प्रहरीले जनाएको छ।
समुदाय तथा विद्यालय केन्द्रित २९ वटा सचेतनामूलक कार्यक्रममा ८७१ जना सहभागी भएका थिए भने विद्यालय केन्द्रित १० वटा कार्यक्रममा ४७३ जना विद्यार्थी सहभागी भएका थिए।
जेठ महिनाभर १ हजार १२८ जना सेवाग्राहीलाई सेवा प्रवाह गरिएको थियो भने प्रहरी हटलाइन तथा सम्पर्क नम्बरमा ८४८ वटा कल प्राप्त भएको प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणमा उल्लेख गरेको । प्रहरीले जेठमा मात्रै करिब ३ रोपनी क्षेत्रफलमा अवैध रूपमा खेती गरिएको अफिम नष्ट गरेको जनाएको छ।











