पूर्ण सार्की/डोल्पा। हिमाली जिल्ला डोल्पामा शिलाजीत सहित तीन जना पक्राउ परेका छन्। जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका ८ स्थित ढेकुयान इलाकामा अवैध रूपमा शिलाजित सङ्कलन गर्दै गरेका तीन जना डोल्पाली पक्राउ परेको शे- फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले रंगीन पाटीलाई जानकारी दिएको छ।


बिहीबार रिग्मोस्थित अस्थायी सुरक्षा पोष्टबाट पोष्टराज काफ्लेको कमाण्डमा गएको १/४ को नफ्रीमा (निकुञ्ज कार्यालय कर्मचारीसहित) खट्टिएको पट्रोल टोलीले डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका ४ का ५० वर्षीय टसि तार्के गुरुङ, जगदुल्ला गाउँपालिका ५ का निवासी ४० वर्षीय श्रीलाल बि.क., र मुड्केचुला गाउँपालिका ७ का ४५ वर्षीय काली बहादुर सार्कीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूबाट करिब ६० किलो शिलाजित, २ वटा घोडा, घोडामा प्रयोग हुने २ वटा कोटी, १०० मिटर डोरी, १ वटा चकु लगायतका सामान बरामद गरिएको छ।
उनीहरूलाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा कार्यरत गेमस्काउट सन्तोष बुढाको रोहवरमा दोहोरी भरपाई गरी आवश्यक कानूनी कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको थियो ।











