काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले थालेको ‘जनतासँग माओवादी:’मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान’ आजदेखि फेरि सुरु हुँदैछ । पोखरासम्म आएर पहिलो चरण सकिएको अभियान आज फेरि पोखराबाटै सुरु हुन लागेको माओवादी केन्द्रले जनाएको छ ।
अभियानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु पोखरा पुग्नेक्रममा रहेको महासचिव देव गुरुङले एभरेष्ट दैनिकलाई जानकारी दिनुभयो । दिउँसो ३ बजे रुपा-१ स्यास्त्री स्थित शहीद पार्क अवलोकन गरेर अभियानको सुरुवात हुनेछ ।


कास्कीको कार्यक्रम सकेर नेताहरु लमजुङ बासबस्नका लागि प्रस्थान गर्ने तालिका छ । साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने गरी कार्यतालिका तयार गरिएको छ ।
गण्डकी प्रदेशको गोरखासम्मको तालिका तयार भएको छ । त्यसपछि बाँकी जिल्लाको तालिका पछि तयार हुनेछ । कार्यक्रम अन्तरगत सबै जिल्लामा सार्वजनिक संवाद, अन्तरक्रिया र प्रशिक्षणलगायतका कार्यक्रम तय गरिएको छ ।











