नेपालगन्ज । आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी रुपमा आजदेखि सेवाप्रवाह गर्न सुरु गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यालय परिसरमा टेन्ट टाँगेर सेवा प्रवाह सुरु गरिएको जानकारी दिए । कार्यालयमा सरसफाइ र व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ । “अस्थायी कार्यालय स्थापना गरेर भेटघाट र नागरिकको अत्यावश्यक केही काम गर्न थालिएको छ”, उनले भने । उनले अवरुद्ध भएको विद्युत् जडान र शौचालय सरसफाइसमेत गरिएको बताए ।

उपमहानगरपालिकामा स्वास्थ्य सेवा सुरु गरिएको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

भन्सार कार्यालय नेपालगन्जले पनि औपचारिक रुपमा कार्यालयमा सञ्चालनमा ल्याएको जनाएको छ । भन्सार कार्यालय, नेपालगन्जका सूचना अधिकारी पवित्रकुमार खड्काले आयात निर्यात र जाँचपास सुरु भएको जानकारी दिए । उनले कार्यालयमा आगजनी र तोडफोड भएकाले प्रशासनिक र मुद्दामामिलाका काम सञ्चालन हुन अझै केही समय लाग्ने उल्लेख गरे ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आजदेखि बन्दीप्रत्यक्षकरणको रिट निवेदनसम्बन्धी काम सुरु गर्ने जनाएको छ । त्यसका लागि बार, बेञ्च र सरकारी वकिलको कार्यालयसँग छलफल गरिएको थियो । जिल्ला अदालतले सेवा प्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल गर्दैछ ।

यसअघि जिल्ला प्रशासन कार्यालय, बाँकेले न्यूनतम सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर कार्यालय प्रमुखसँग छलफलसमेत गरेको थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह तत्काल सुरु गर्न अप्ठ्यारो स्थिति रहेको बताए । “आगजनी र तोडफोडले सबै खरानी भएको छ, कसरी काम गर्ने भन्ने विषयमा अन्यौल छ”, उनले भने ।

बाँकेमा निजी तथा सरकारी विद्यालय सञ्चालनमा आएका छन् । विद्यालयका दोस्रो चरणको परीक्षाका तयारीका लागि पनि विद्यालय सञ्चालनमा आएको विद्यालयले जनाएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेका अध्यक्ष विकास बज्राचार्यले स्थिति सहज भएकाले सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो

जेनजी प्रदर्शनका क्रममा बाँकेका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी भएका कारण कार्यालयले सेवा प्रवाह गर्न सकेका छैनन् ।

खबर कुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP