चितवन– पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका–२ स्थित ज्यामिरेचोकमा बस र ईभी कार एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।



उदयपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको ईभी कार आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेर कार चालक खैरहनी नगरपालिका–८ निवासी ४२ वर्षीय प्रदीप तिमल्सिनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि केही समय अवरुद्ध राजमार्ग अहिले दुवैतर्फ सुचारु भएको छ भने दुर्घटनामा संलग्न दुबै सवारीसाधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











