पूर्ण सार्की/डोल्पा। हिमाली जिल्ला डोल्पाका विभिन्न यार्सापाटनमा अवैध रुपमा प्रवेश गरी यार्सागुम्बा संकलन गर्न गएका १५ जनालाई सुरक्षाकर्मी र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेको छ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने कोर क्षेत्र तथा विभिन्न पाटन क्षेत्रमा लुकीछिपी प्रवेश गरी यार्सागुम्बा संकलन गर्न गएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको शे- फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।



निकुञ्जको सुरक्षार्थको लागि खटिएको श्री संग्राम शार्दुल गुल्मअन्तर्गत सुरक्षा पोष्ट तोइजुमबाट निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

संयुक्त गस्ती टोलीले शुक्रबार बिहान करिब ८ बजे जगदुल्ला गाउँपालिका–१ स्थित रिखे पुलबाट टाङटुङ्गे पाटनतर्फ जाँदै गरेका ९ जनालाई नियन्त्रणमा लिइएको थियो। पक्राउ पर्नेमा जगदुल्ला ३ थापा गाउँकी ४२ वर्षीय रमिला बिक, १३ वर्षीय सर्वन बिक र जुम्लाको गुठीचौर गाउँपालिका १ की ३८ वर्षीय कलौती कामी, ३६ वर्षीय रुपलाल बिक, १६ वर्षीय लाल प्रसाद बिक, २० वर्षीय प्रकाश विक, २० वर्षीय फुलमाया बिक, १५ वर्षीय निराजन बिक, १३ वर्षीय सुनिल बिक रहेका छन् । उनीहरुको साथबाट ९ वटा झोला, ८ वटा कुटी तथा १० वटा सलाइ बरामद गरिएको जनाइएको छ।

त्यसैगरी सोही दिन साँझ ७ बजे जगदुल्ला गाउँपालिका–१ अन्तर्गत शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्र फूलबारी पाटनमा अवैध रुपमा प्रवेश गरेका थप ६ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा डोल्पाको जगदुल्ला १ हुरीकोटका १५ वर्षीय निशेष रावल, जुम्लाको पातारासी गाउँपालिका ५ का १९ वर्षीय प्रवीण बुढा, १७ वर्षीय सन्दीप महतारा, १७ वर्षीय दिनेश बोहोरा, ४६ वर्षीय धर्म दत्त महतारा, र २६ वर्षीय वीर बहादुर बुढा रहेका छन् । उनीहरुको साथबाट ६ वटा झोला, ६ वटा कुटी र ६ वटा सलाइ बरामद गरिएको छ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सिनियर गेम स्काउट दानबहादुर बुढालाई बुझाइएको नेपाली सेनाले जनाएको छ।
निकुञ्ज प्रशासनले अनुमति बिना कोर क्षेत्रमा प्रवेश गरी यार्सागुम्बा संकलन गर्ने कार्य गैरकानुनी भएको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप कडाइ गरिएको जनाएको छ। यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका सम्पूर्ण यार्सापाटनहरु जेठ १० गते खुल्ला गरिने निर्णय गरिएको छ ।
निकुञ्जले यार्सापाटनहरु आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागी पाटनतिर नजान आग्रह समेत गरेको छ ।










