डोल्पा । डोल्पाका युवा सर्जक हरीचन्द्र विष्टको पहिलो म्युजिक भिडियो ‘पछुताउने भयौं’ सार्वजनिक गरिएको छ । चर्चित लोकदोहोरी गायक भागीरथ चलाउने र गायिका सरिता सुनारको आवाजमा सजिएको उक्त गीत बिहीबार सार्वजनिक गरिएको हो ।
डोल्पाको त्रिपुराकोट निवासी हरीचन्द्र विष्ट र मोडल सरिका केसीको मुख्य अभिनय रहेको भिडियो ‘भागीरथ चलाउने’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


गीतको शब्द रचना विष्ट स्वयंले गरेका हुन् भने संगीत भागीरथ चलाउने सँगै म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । प्रकाश खड्का र उनको टोलीले छायांकन गरेको भिडियोमा प्रेमपछि हुने बिछोड र त्यसले निम्त्याउने पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
भिडियोमा प्रेम सम्बन्धमा रहेका दुई युवा–युवतीको असफल प्रेमकथालाई विशेष रूपमा देखाइएको छ । परिवारको दबाबका कारण केटीले आफूले मन पराएको व्यक्तिसँग विवाह गर्न नपाउँदाको पीडा र त्यसपछि उत्पन्न हुने भावनात्मक कथालाई भिडियोमा समेटिएको छ ।
भिडियो सार्वजनिक हुनुअघि नै गीतले सामाजिक सञ्जाल टिकटकमा राम्रो चर्चा पाएको भन्दै भिडियोले पनि दर्शकबाट राम्रो माया पाउने अपेक्षा गरेको सर्जक विष्टले बताएका छन् । उनले भिडियो राम्रो बनेको र एकचोटि सबैले हेरेर प्रतिक्रिया दिन आग्रह समेत गरेका छन् ।
भिडियो लिंक: https://youtu.be/f7dX0AK2nd8?si=Q4FI9PulyxO6MXdf











