पूर्ण सार्की/सुर्खेत : हिमाली जिल्ला डोल्पाको अन्नपूर्ण माध्यामिक विद्यालयमा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरी करिब ३० लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, अन्नपूर्ण माविको निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिलाई हानी नोक्सानी पुर्याइएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागसहित २९ लाख ६० हजार ६९२ रुपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आइतबार आरोपपत्र दायर गरिएको हो।
डोल्पाको मुड्केचुला गाउँपालिका–७ मा अवस्थित अन्नपूर्ण माविले आर्थिक वर्ष २०७९/८० मा इबीआइडी प्रणालीमार्फत बोलपत्र आह्वान गरेको थियो। तर मूल्याङ्कनका क्रममा सार्वजनिक खरिद ऐन, शिक्षा ऐन तथा सम्बन्धित नियमावलीको मर्म विपरीत निर्णय गरी गर्दै विद्यालयमै कार्यरत शिक्षिकाको नाममा रहेको निर्माण कम्पनीलाई ठेक्का दिइएको आयोगको आरोप छ।
उक्त कम्पनीले मूल्याङ्कनमा चौथो स्थानमा रहेर पनि बोलपत्र प्राप्त गरेको थियो भने, सबैभन्दा कम कबोल अङ्क (भ्याट बाहेक) ४९ लाख ८३ हजार ३९४ रुपियाँ रहेको महातारा निर्माण सेवालाई ‘साइट भिजिट नभएको’ भन्दै अयोग्य ठहर गरिएकाले प्रतिस्पर्धात्मक प्रक्रियालाई खारेज गरिएको देखिन्छ।
दिग्दर्शन निर्माण सेवाले ७९ लाख ४४ हजार ८७ रुपियाँ भुक्तानी पाएकोमा महातारा निर्माण सेवाको कबोल अङ्कबाट तुलना गर्दा २९ लाख ६० हजार ६९२ रुपैयाँ बराबरको हानी विद्यालयलाई भएको आयोगको निष्कर्ष छ।
आयोगले सार्वजनिक निकायका कर्मचारी, विद्यालयका पदाधिकारी तथा ठेकेदार मिलेर जनताको सम्पत्तिमा अनियमितता गर्न नपाउने स्पष्ट सन्देश दिन मुद्दा दायर गरिएको जनाएको छ।











