सुर्खेत :जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार ८ सय ४२ सवारीसाधनलाई कारबाही गर्दै १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ८४२ सवारीसाधन कारबाहीमा परेका थिए र त्यतिबेला १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो। यो वर्ष अघिल्लो वर्षको तुलनामा २९ लाख १५ हजार ५ सय रुपैयाँले राजस्व वृद्धि भएको छ।


कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा धेरै ६ हजार ७५० वटा मोटरसाइकललाई कारबाही बाट ५४ लाख २६ हजार , त्यस्तै ३ हजार ७२ वटा जिप, कार, भ्यान बाट २३ लाख ४६ हजार ५ सय , २ हजार ८६१ वटा ट्रक–टिपर बाट २७ लाख ६० हजार, २ हजार २५ वटा अटो टेम्पोबाट १९ लाख २४ हजार ५ सय , १ हजार ६१४ वटा बस तथा मिनी बसदेखि १४ लाख ४४ हजार ५ सय , ८२९ वटा ट्याक्टर लाई कारबाही गरी ६ लाख १३ हजार ५ सय गरेर करोडौँको राजश्व संकलन गरेको प्रहरी निरीक्षक सुनारले जानकरी दिए।
गत आर्थिक वर्षमा ४२३ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३८ जनाको मृत्यु भएको छ। मृतकमध्ये २९ जना पुरुष (जसमध्ये १२ जना चालक), ६ महिला, १ बालक र ३ बालिका रहेका छन्।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटना न्यूनीकरणका लागि वीरेन्द्रनगरकाविद्यालय, क्याम्पस, चालक, सहचालक र पैदल यात्रीलाई लक्षित गर्दै २ हजार ५३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताएको छ।
साथै राडर गनमार्फत गति नियन्त्रण, मादक पदार्थ सेवन चेकजाँचमा कडाइ, ८८६ वटा रोड फर्निचर, जानकारीमूलक बोर्डहरू जडान तथा २०६ वटा अतिरिक्त सिट हटाउने, ८४ वटा मोडिफाइड सवारी नियन्त्रण गर्ने कार्यहरू गरिएको छ।
प्रविधिमैत्री ट्राफिक प्रशासनका लागि ई–चलान प्रणाली, अनलाइन सचेतना कार्यक्रम, ट्राफिक लाइट जडान जस्ता पहलहरू समेत अगाडि बढाइएको ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ट्राफिक नियमको कडाइ, प्रविधिको प्रयोग र जनचेतनामार्फत दुर्घटना न्यूनीकरण र राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ।











