हेटौंडा, साउन १८ ।बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठक अन्तिम समयमा आएर रद्द गरिएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरे पनि प्रमुख सचिवको अनुपस्थितिका कारण बैठक बस्न नसकेको हो।
मुख्यमन्त्री लामा निर्धारित समयअनुसार काठमाडौँबाट हेटौंडा आइपुगेका थिए। तर प्रमुख सचिव भुपाल बराल काठमाडौँमै रहेकाले अन्य सचिवहरूले ‘प्रमुख सचिव विना मन्त्रिपरिषद बैठक राख्न नहुने’ सुझाव दिएपछि बैठक रद्द गरिएको स्रोतले जनाएको छ।


बैठक रद्द भएपछि मुख्यमन्त्री लामाले पत्रकार सम्मेलनको तयारी गरेका छन्। स्रोतका अनुसार पत्रकार सम्मेलनमार्फत उनले आफ्नो कार्यकालभरिका कामको विवरण सार्वजनिक गर्नुका साथै राजीनामाको घोषणा पनि गर्न सक्नेछन।
मुख्यमन्त्री लामामाथि नेपाली कांग्रेस संसदीय दलको नेताबाट अविश्वास प्रस्तावमार्फत हटाइएपछि पदबाट राजीनामा दिनुपर्ने दबाब बढ्दै आएको छ।











